विश्वसँगै नेपाल पनि अनलाइन बिजनेसतर्फ उन्मुख भएको छ । सूचनासञ्चार प्रविधिको विकास र द्रुत परिवर्तनले मानिसको दैनिक जीवन, कार्यजीवन र शाश्वत जीवन अप्रत्याशित रूपमा बदलिदिएको छ । विश्वका मानिस मोबाइलमा आधारित इन्टरनेटमार्फत मित्रवत्, प्रोफेसनली वा अन्य विविध प्रयोजनका लागि एकआपसमा जोडिएका वा आबद्ध भएका छन् । प्रोफेसनली कनेक्ट हुनुलाई संगठन वा कम्पनीको कार्यसक्षमता र कार्यदक्षता अभिवृद्धिको आधारभूत तŒवका रूपमा परिभाषा गरियो । मेनेजरले कामदार कर्मचारीलाई कुनै पनि बेला सम्पर्क गर्न र कामको विषयमा अथ्र्याउन र काम गराउन सक्ने भए । कम्पनी वा संगठनले खोजीखोजी कुनै पनि बेला आफूलाई काम गराएकोमा र काम गर्ने समयमा लचकता भएकोमा कामदार कर्मचारी पनि उत्प्रेरित भए । डिजिटल आबद्धताले रोजगारदाता तथा कामदार कर्मचारी दुवैलाई प्रसन्न बनायो ।
परम्परागत रूपमा कार्यालयमा राति धेरै अबेरसम्म बसेर काम गर्ने, अफिसमा नसकिएको काम बोकेर घर लैजाने तथा ओभर टाइमको सुविधा नपाए पनि कुनै पनि समयमा कार्यालयमा गएर काम गर्ने संस्कृति आमचलनचल्तीमा रहेको छ । सूचना प्रविधिको विकासपछि कम्पनीले कर्मचारीलाई ल्यापटप, मोबाइल किनेर घरमा लैजान दिने र कर्मचारी कम्पनीको आवश्यक परेको बेलामा सधंै उपलब्ध हुन कनेक्ट भइरहने (अलवेज अन रहने) व्यवस्था गर्ने गरेका छन् । एकातर्फ कार्यालयको काम राम्रोसँग समयमा सम्पन्न हुने र अर्कोतिर कर्मचारी पनि समयको लचकता पाएर खुसी हुने परिपाटीको विकास भयो । तर, कामकाजीहरूका लागि बोझ र सम्पर्क थपिदै गएपछि कर्मचारी ‘कगनिटिभ ओभरफ्लो सिन्ड्रोम’मा फस्न पुग्यो । कगनिटिभ ओभरफ्लो सिन्ड्रोम भनेको कर्मचारीले सधैजसो थोरै समयमा अत्यधिक धेरै काम गर्नुपर्ने स्थिति हो ।
कार्यालयको काममा निर्लिप्त कर्मचारीले परिवारका लागि पर्याप्त समय दिन नसकेपछि विविध पारिवारिक समस्या देखिए । स्ट्याडफोर्ड ग्य्राजुयट स्कुल अफ बिजनेसको एक अध्ययनले कर्मचारीले लामो समयसम्म कार्यालय वा कम्पनीको काम गर्दा उच्च रक्तचाप, डिप्रेसन र मुटुसम्बन्धी समस्या देखिने जोखिम बढेकोे तथा कार्यालयको काममा बढी संलग्न हुनाले कर्मचारीको कार्यालयको काम र पारिवारिक जीवन अत्यन्त तनावपूर्ण हुने गरेको देखाएको छ । हावर्ड बिजनेस रिभ्युको अध्ययनअनुसार लचकदार कार्यसमय र घरबाट टेलिवर्किङ गर्ने सुविधाले काम र निजी जीवनबीच सन्तुलन (वर्क–लाइफ ब्यालेन्स) हुने गरेको देखाए पनि बढी पारिश्रमिक वा पदोन्नति वा सुविधा बृद्धिका लागि राति अबेरसम्म र बिदाको दिन पनि काम गर्नुपर्ने बाध्यताले कर्मचारी तनावमा रहने गरेको अवस्था पनि अध्ययनले उजागर गरेको छ । यसैगरी, वल्र्ड इकोनोमिक्स फोरमले त्यस्तो काम गर्ने कर्मचारी ७५ प्रतिशतभन्दा बढीलाई मानसिक तनाव रहेको जनाएको छ ।
डिजिटल कनेक्टिभिटीले मानिसको जीवन पद्धतिलाई सजिलो बनाएको छ । र, साथै कामदार र कर्मचारीलाई कार्यालयले निरन्तर पिछा गरिरहने अवस्था पनि सिर्जना भएको छ । कनेक्टिभिटीले कार्यसमयमा लचकता ल्याएको भए पनि यसले पेसागत र पारिवारिक जीवनका सीमामाथि नै अतिक्रमण गरेको देखिन्छ । ‘राउन्ड द क्लक’ काम गर्नाले कर्मचारीमा टेलिप्रेसरबाट उत्पन्न तनाव देखिने गरेको छ भने अति आबद्धताले इन्फोओविसिटी पनि बढाएको छ । वर्नआउट, मानसिक स्वास्थ्य समस्या आउने, सामाजिक सम्बन्ध कमजोर हुने, सुम्पिएको काम गर्न केही समय सुस्ताउने तलसमय (डाउन टाइम)को अभाव रहने, स्क्रिनमा धेरै हेर्दा आँखा कमजोर हुने र अत्यधिक कामको बोझले कर्मचारीको उत्पादकत्व घट्ने लक्षण छरपस्ट देखिएको पाइन्छ ।
आजको डिजिटल युगमा धेरै कर्मचारी स्मार्ट फोनबाट अफिसको काम अफिसमा बसेर वा घर वा कुनै पनि ठाउँबाट र कुनै पनि समय गने गर्दछन् । अफिस नै प्रत्येक कामकाजी व्यक्तिको खल्तीमा रहेको पाइन्छ । कार्यालयको ई–मेल वा मेसेज समयसमयमा हेरिरहनुपर्ने वा ई–मेल वा मेसेज आउँछ कि भनेर सावधान भइरहनुपर्ने र मेसेजको जवाफ दिनुपर्ने जिम्मेवारी आजको जीवनशैली बनेको छ । कार्यालयको काममा सदैव जोडिइरहने आमकर्मचारीको बाध्यता भएको छ भने कार्यालय परिवारजस्तै कर्मचारीको जीवनको अभिन्न हिस्सा पनि बनेको छ ।
थकान (वर्नआउट) र तनावका कारण कर्मचारीले संगठनका लागि कुनै रचनात्मक विचार सिर्जना गर्न, श्रम दिन र नयाँ ज्ञान, सीप सिक्न कठिन हुने देखिएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयको एक अध्ययनले एक दिनमा तीन÷चारवटा ई–मेल मात्र चेक गर्ने कर्मचारी निरन्तर ई–मेल चेक गरिरहने कर्मचारीभन्दा कम तनावमा रहने गरेको पुष्टि गरेको छ भने कोलोराडो विश्वविद्यालयको एक अध्ययनले घरमा रहदा पनि अफिसको ई–मेल चेक गरिरहने वा गर्नुपर्छ भनेर पर्खिरहने कर्मचारी अन्य कर्मचारीको तुलनामा बढी तनावमा रहने गरेको जनाएको छ ।
आबद्धता (कनेक्ट)ले गर्दा निजीक्षेत्र वा ठूला कम्पनीमा काम गर्ने कर्मचारी कामदार वा पत्रकारलाई अफिसमा र अफिस समयभन्दा बाहिर धेरै काम गर्नुपर्ने बाध्यता बढ्दै गएको पाइन्छ । जतिखेर पनि कार्यालयको कामका लागि मौजुद भइरहनुपर्ने संस्कृति कर्मचारीको पारिवारिक जीवनका लागि चिन्ताको विषय बनेको छ । हाकिमको मेसेज वा ई–मेल आउँछ कि भनेर पर्खिरहनुपर्ने स्थितिले कर्मचारीको तनाव बढने, पारिवारिक खटपट हुने, उत्पे्ररणा र उत्पादकत्वमा ह्रास आउने तथा निन्द्रा नपर्ने तथ्य स्टडी जर्नल वक्र्स एन्ड स्ट्रेसको अध्धयनले देखाएको छ ।
कनेक्टिभिटीबाट कर्मचारीको पारिवारिक जीवनमाथि बढी नकारात्मक प्रभाव परेको तथ्यलाई मनन गर्दै डिस्कनेक्टको अधिकार (आबद्धता विच्छेदको अधिकार)को खोजी भयो । कार्यालय वा कार्यालयको कामबाट डिस्कनेक्ट गर्न पाउने हक मानवअधिकार हो । कर्मचारीले अफिस समयभन्दा पछि, सप्ताहान्त वा बिदामा बसेको समयमा कामबाट आफूलाई अलग राख्ने अर्थात् अफिसको कुनै पनि ई–मेल वा म्यासेज वा फोनकलको जवाफ नदिई काटिदिन पाउने अधिकार ‘राइट टु डिस्कनेक्ट’ अधिकार हो ।
आबद्धता विच्छेदको अधिकार कार्यालयको कार्यसमयभन्दा पछि कार्यालयको कामका लागि इलेक्ट्रोनिक्स सञ्चारको प्रयोग र घरमा कार्यालयको कुनै पनि काममा संलग्न हुन नपर्ने अधिकारबीचको सीमा निर्धारण गर्ने एक अधिकार हो । कार्यालय समयभन्दा अगाडि पछाडि, सप्ताहान्त वा बिदाको दिन कामदार वा कर्मचारीले हाकिम वा कार्यालयको आधिकारिक पदाधिकारीले गरेको कुनै पनि फोनकल, टेक्स्ट वा ई–मेलको जवाफ दिनुनपर्ने र सोको जवाफ नदिएकै कारण कर्मचारी वा कामदार कुनै किसिमले दण्डित वा सजायको भागिदार हुनुनपर्ने अधिकार ‘राइट टु डिस्कनेक्ट’ हो ।
राइट टु डिस्कनेक्टको कानुन बनाउने पहिलो देश फ्रान्स हो । फ्रान्सले सन् २०१६ मा ‘एल खोमोरी’ कानुन जारी गरेर ५० जनाभन्दा बढी कर्मचारी भएको संगठन वा कम्पनीमा राइट टु डिस्कनेक्ट कानुन लागू हुने व्यवस्था गरेको छ । ऐनअनुसार निजी कम्पनीमा काम गर्ने कर्मचारीले कार्यालय समयभन्दा पछि वा अघि वा विदाको दिन अफिसबाट आउने कुनै पनि फोन वा म्यासेज उठाउन र जवाफ दिइरहनु पर्दैन, डिस्कनेक्ट गरेर बस्न पाउँछ । छुट्टीमा बसेको बेलामा हाकिमले फोन वा ई–मेलमा कुनै विषयमा सोध्न वा छलफल गर्न पनि सक्दैन । अफिस समयमा बाहेक अन्य समयमा हाकिमले कर्मचारीलाई अफिसको काममा संलग्न गराइराख्न पनि सक्दैन । राइट टु डिस्कनेक्ट कानुनले कर्मचारीलाई फुर्सद मिल्छ र परिवारसँग रमाउन पाउँछ । कर्मचारीको तनाव कम हुन्छ । उच्च रक्तचापजस्ता रोगको समस्या आउन पाउँदैन । थकान कम हुन्छ । निन्द्रा पर्छ । कर्मचारीमा अफिसमा काम गर्ने ऊर्जा बढ्छ । हाकिमसँगको सम्बन्ध सुमधुर हुन जान्छ र सारभूत रूपमा कम्पनी नै सफल हुन्छ ।
राइट टु डिस्कनेक्ट अधिकारको सट्टामा कर्मचारीले वार्षिक रूपमा पाउने बिदाको उचित उपयोग गर्ने वातावरण निर्माण गर्न मागहरू उठे । पेसागत जीवन र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्ने नयाँ नीति ल्याउन दबाब बढे । कार्यालयको कार्यवातावरण स्वस्थ र सुरक्षित हुनुपर्ने नाराहरू घन्किए । यद्यपि, फ्रान्समा राइट टु डिस्कनेक्ट कानुन जारी भएपछि विश्व श्रम बजारमा हलचल आयो । स्पेनमा कर्मचारीको कुनै सीमा नराखी सबै संगठनमा राइट टु डिस्कनेक्ट कानुन लागू हुने व्यवस्था बन्यो । जर्मनमा बिदामा बसेको समयमा पठाएको ई–मेल स्वतः मेटिने प्रविधि बनाएर कानुन लागू भयो । लक्जेम्बर्ग, बेल्जियम, इटाली फिलिपिन्सलगायत धेरै देशले आआफ्नो देशको कार्यसंस्कृतिको आधारमा राइट टु डिस्कनेक्टका कानुन बनाएर लागू गरे ।
भारतमा प्रतिनिधिसभा सांसद सुप्रिया सुलेद्वारा गैरसरकारी विधेयकको रूपमा राइट टु डिस्कनेक्ट विधेयक संसद्मा पेस भयो । विधेयकमा कर्मचारीलाई अफिस समयभन्दा अघिपछि वा सप्ताहान्त वा बिदाको समयमा कार्यालयको फोन उठाउनुनपर्ने र नउठाएको कारण सजाय पनि नहुने व्यवस्था रहेको छ । १० जनाभन्दा बढी कर्मचारी कामदार भएको संगठन वा कम्पनीमा राइट टु डिस्कनेक्ट कानुन लागू हुने व्यवस्था रहेको छ । विधेयकले कर्मचारीको कामको कारण उत्पन्न हुने तनाव कम गर्ने र पेसागत जीवन र पारिवारिक जीवन दुवै सन्तुलित हुने उद्देश्य राखेको छ । विधेयकले एउटा कर्मचारी कल्याण समिति रहने, कर्मचारीका लागि काउनसेलिङ सुविधा हुनुपर्ने व्यवस्था पनि गरेको छ । भारतमा राइट टु डिस्कनेक्ट विधेयक संसद्मा पेस भएपछि पक्षविपक्षमा बहस चलेका छन् ।
नेपालमा कार्यालय समय दैनिक सात घण्टा र साताको ४० घण्टा छुट्याइएको छ । विकसित देशमा झंै नेपालमा पनि संगठन र कर्मचारी कामदारबीच डिजिटल कनेक्टिभिटी दिनदिनै बढेको छ । कर्मचारी कार्यालयको काम गर्न राति अबेरसम्म कार्यालय बस्नुपर्ने अवस्था विकास भइरहेका छन् । मोबाइल र ल्यापटपको प्रयोगले हाकिम कर्मचारी सबै सधंै साथसाथै हुने भएका छन् । बिस्तारै कर्मचारी परिवारबाट टाढिदै गएको अनुभव भइरहेको छ । कर्मचारीले प्रोफेसनल जीवन र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्न सकेनन् भने कर्मचारीमा अनेकन मानसिक एवं पारिवारिक समस्या आउन सक्दछन् ।
कोभिड–१९ को संक्रमणले इन्टरनेट आबद्धतालाई झन् आवश्यक र झन् जटिल बनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, आपूर्तिकर्ता तथा नीतिनिर्माता एकआपसमा आबद्ध भएर विपद्कालीन कार्य गर्ने, बैठक गर्ने, भिडियो कनफरेन्स गर्ने तथा सूचना प्रवाह गर्ने काम गरिरहेका छन् । यसकारण नेपालमा पनि राइट टु डिस्कनेक्ट कानुन आवश्यक देखिएको छ । सरकार, कर्पोरेट हाउस, ट्रेड युनियन र विज्ञ बसेर समयमा नै राइट टु डिस्कनेक्ट कानुनको निर्माण र प्रयोग गर्ने वातावरण बनाउन उचित देखिन्छ ।