कोरोना संक्रमण प्रतिदिन बढ्दै छ । मास्क समुचित प्रयोग अति आवश्यक छ । अस्पताल पुगेका व्यक्तिबीच कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्न जरुरी छ । आफूसँगैको अर्को व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा मास्क नलगाएका कारण संक्रमितबाट भाइरस शरीरभित्र प्रवेश गर्न सक्छ । अस्पताल क्षेत्रमा भीडभाड गर्नु हुँदैन । अनावश्यक सतह छुनु हुँदैन । अस्पतालबाट बाहिरी सकेपछि स्यानिटाइजर प्रयोग वा साबुनपानीले मिचिमिचि हात धुनुपर्छ ।
विरामी नियमित आइरहने हुनाले अस्पतालमा भीडभाड गर्नु हुँदैन । यदि, भीडभाड भयो र मास्क नलगाए संक्रमण हुनसक्छ । मास्क प्रयोग समुचित तरीकाले भएन भने संक्रमण जोखिम झन् बढ्छ । अस्पतालका विभिन्न सतह हुन्छन्, ती स्थानमा धेरैले खोकेको वा छोएको हुन सक्छन् । यसमा विशेष सावधानी अपनाउन आवश्यक छ ।
अस्पतालमा दैनिक पीसीआर परीक्षणका लागि सर्वसाधारण आउनुहुन्छ । सबैभन्दा पहिले व्यक्ती स्वयं सचेत र सतर्क हुनुप-यो । हातले नाक, मुख र आँखा छुने, कोट्याउने वा कन्याउने बानी छाड्नुपर्छ । यस्ता बानीले हातको माध्यमबाट भाइरस शरीरभित्र प्रवेश गरेर संक्रमण हुने सम्भावना रहन्छ ।
अस्पतालमा विभिन्न स्थानका मानिस आएका हुन्छन् । स्वास्थ्यकर्मीले ‘जोसुकै संक्रमित हुन सक्छन्’ भनेर न्यूनत्तम जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ । अस्पतालमा संक्रमण रोकथाम सन्दर्भमा सम्पूर्ण उपाय अबलम्बन गर्न अति आवश्यक छ ।
अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका विरामी आउने गर्छन् । सर्वप्रथम त उनीहरूको वर्गीकरण गर्नुपर्छ । कोरोनाका लागि छुट्टै हेर्ने व्यवस्था हुनुप-यो । श्वासप्रश्वास समस्या, ज्वरो, सुगरलगायत छुट्टै व्यवस्था हुनुपर्छ ।
अस्पतालको क्यान्टिनमा पनि भीडभाड गर्नु हुँदैन । चिनजानका व्यक्ति अस्पताल परिसर वा अन्य ठाउँमा भेटिए पनि हेलचेक्र्याई गर्नु हुँदैन । सेवाग्राहीले पनि आउने अरु व्यक्ति संक्रमित हुनसक्नेमा चनाखो भएर बस्नुपर्छ ।
मास्क पटकपटक छुनु हुँदैन । मास्क चिउँडोमा राख्नु हुँदैन । सही तरीकाले नाकमुख छोप्नेगरी प्रयोग गर्नुपर्छ । सकेसम्म काम सकिएपछि अस्पतालमा भीडभाड नगरौं । यदि कोरोना परीक्षण रिपोर्ट इन्टरनेटमा उपलब्ध हुने अवस्था छ भने अस्पताल गइरहनु पर्दैन ।
प्रवक्ता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल