धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक नेपाली सेनामा नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । बैतडीस्थित हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना संक्रमण देखिएको हो ।
बैतडी स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले डडेल्धुरा प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा २० वर्षीय सेनाका जवानलाई कोरोना संक्रमण देखिएको जानकारी दिए ।
ती जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि ब्यारेकभित्रै छुट्टै आइसोलेसनमा राखिएको छ । हनुमान ध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएकोमा सोमबार ८ जनाको मात्र रिपोर्ट आएको र अन्यको रिपोर्ट आउन बाँकी छ ।
संक्रमण पुष्टि भएका ती जवानको कुनै ट्राभल हिस्ट्री नभएको गुल्म जनाएको छ । एक जना जवानमा कोरोना संक्रमण देखिएपछि गुल्ममा आवतजावतमा रोक लगाइएको र गुल्ममा कार्यरत सबै जनाको कोरोना परीक्षण गर्ने तयारी भएको बैतडी स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि आइतबार बैतडीमा एक प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । काठमाडौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय पाटनमा आएका ३१ वर्षीय प्रहरी जवानमा कोरानो संक्रमण देखिएको थियो । यससँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३३० पुगेको छ ।