धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ११४ जनामा संक्रमण देखिएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५५१० पुगेको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको छ । यसरी संक्रमण देखिएकामा कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई/दुई जना रहेका छन् ।
यसैगरी, डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको हो ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण देखिएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीमा नेपाली सेनामा कार्यरत एक जनामा कोरोना देखिएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए । सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका ४३७६ जना संक्रमण मुक्त भएर घर फर्किका छन भने १२ जनाको मृत्यु भएको छ ।