काठमाडौं । कोभिड–१९ ले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको अनुमान गरिए पनि राष्ट्रिय अर्थतन्त्र मजबुत नै देखिएको छ ।
अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेकामा गत वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । शोधनान्तर स्थिति बचतमा हुनु भनेको मुलुकबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुनु हो । देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढी भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ ।
नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको वार्षिक प्रतिवेदनले कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ६५ करोड अमेरिकी डलर रहेको पनि देखाएको छ । सो सञ्चितिको आधारमा मुलुकले १ वर्ष ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ भन्ने देखाउँछ ।
वार्षिक औसत मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ ।
आयात १५.६ प्रतिशतले घटेको छ भने निर्यात ०.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १३.९ प्रतिशतले र निर्यात १९.४ प्रतिशतले बढेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.५ प्रतिशत र अमेरिकी डलरमा ३.३ प्रतिशतले घटेको छ ।
शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ । सो सञ्चिति १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विस्तृत मुद्राप्रदाय १८.१ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १८.७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतले बढेको छ ।
२०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ३८ खर्ब ४० अर्ब र निजी क्षेत्रमाथिको दाबी ३२ खर्ब ७७ अर्ब पुगेको छ ।
निर्यात व्यापार नफस्टाए पनि आयात उच्च दरले कटौती भएको र रेमिट्यान्स आयमा पनि खास गिरावट नआएकाले यसपालि शोधनान्तर बचत उच्च हुन पुगेको ठम्याइ राष्ट्र बैंकको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा नेपालको वार्षिक औसत मुद्रास्फिति पनि ६.१५ प्रतिशत मात्र कायम भएको छ । मुद्राको अवमूल्यन अर्थात् मुद्रास्फितिले प्रत्यक्ष रूपमा मूल्य वृद्धिलाई असर गर्छ । यो भनेको गत वर्ष सय रुपैयाँ रहेको पैसाको मूल्य यस वर्ष ९४ रुपैयाँसरह मात्र रहनु हो । अघिल्लो वर्ष मुद्रास्फीति अर्थात् मूल्यवृद्धि दर ४.६४ प्रतिशत मात्र थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा आयात १५.६ प्रतिशतले घटेको छ भने निर्यात ०.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १३.९ प्रतिशतले र निर्यात १९.४ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ११.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३.५ प्रतिशत र १८.२ प्रतिशतले घटेको छ ।
कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा चालू खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २ सय ६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालू खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १८.७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३८ खर्ब ४० अर्ब र निजी क्षेत्रमाथिको दाबी ३२ खर्ब ७७ अर्ब पुगेको छ ।
एक वर्षमा निर्यात ०.६ प्रतिशतले मात्र सुध्रिएको छ । १ खर्बभन्दा केही कम अर्थात् ९७ अर्ब ७१ करोडको मालवस्तु नेपालले विदेशमा बिक्री गरेको छ ।
आयात विगतको तुलनामा केही घटेको छ । कुल १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोडको आयात भएको छ । अघिल्लो वर्ष आयात १३.९ प्रतिशतले बढेको थियो ।
सेवा आयमा सुधार देखिएको छ । अघिल्लो वर्ष १५ अर्ब २३ करोडले घाटामा रहेको खुद सेवा आय यसपालि १ खर्ब २२ करोडले बचतमा आएको छ ।
आयात कम भएका कारण यसपालि व्यापार घाटा पनि कम भएको छ । व्यापार घाटा १६.८ प्रतिशतले संकुचन आएर १० खर्ब ९९ अर्ब ९ करोडमा खुम्चिएको छ ।
देशको आयात तथा निर्यात अन्तरलाई व्यापार घाटा वा बचत भनिन्छ । देशबाट बिक्री गरिने (निर्यात)भन्दा किन्ने दर (आयात) उच्च भएमा त्यो व्यापार घाटा हो ।
कोभिड–१९ का कारण रेमिट्यान्स आय उल्लेख्य घट्ने अनुमानविपरीत सामान्य मात्र असर परेको छ । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स ०.५ प्रतिशतले घटेर ८ खर्ब ७५ अर्ब ३ करोड भित्रिएको छ । जबकि अन्तिम श्रम स्वीकृति लिनेहरू साढे २० प्रतिशतले घटेका छन् ।
चालू खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ थियो ।