दोलखा । कोरोना भाईरस (कोभिड–१९) महामारी सतर्कता र रोकथामका लागि दोलखाका ९ ओटा स्थानीय तहहरुले सवा ४ करोड खर्च गरेका छन् ।
४ महिनाको अवधिमा दोलखाका २ नगरपालिका र ७ ओटा गाउँपालिकाले कोरोना भाईरस महामारी सतर्कता र रोकथामका लागि ४ करोड १४ लाख रुपैयाँ खर्च गरेको पाईएको हो । २०७६ चैत ११ गते यता असार मशान्तसम्म करिब४ करोड खर्च भएको छ ।
जिल्लाका ९ औटै स्थानीय तहहरुको कोषमा जम्मा भएको ५ करोड २६ लाख रुपैयाँमध्येबाट क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा एक करोड ५२ लाख र खाना, उपचार, यातायात, किट खरिद, स्वास्थ्यकर्मी भत्ता लगायत गरी २ करोड ६२ लाख खर्च भएको ति स्थानीय तहहरुको तथ्याङ्क रहेको छ ।
संघीय सरकारबाट ३८ लाख, वागमती प्रदेशबाट ९२ लाख र स्थानीय तहहरुको ३ करोड ९६ लाख गरी कूल ५ करोड २६ लाख रुपैयाँ कोषमा जम्मा भएको थियो । जिल्लामा सबैभन्दा बढी गौरीशंकर गाउँपालिकाले एककरोड १२ लाख रुपैयाँको कोष खडा गरी ८० लाख रुपैयाँको खर्चबाट १५२ जनाको व्यवस्थापन गरेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए । यता ८० लाख रुपैयाँको कोष स्थापना गरी बिगु गाउँपालिकाले २० लाख क्वारेनटाइन निर्माण र व्यवस्थापन र २४ लाख रुपैयाँमा औषधि, खाना तथा उपचारमा खर्च गरी १४२ जनाको व्यवस्थापन गरेको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए ।
कोरोना महामारी सर्तकता र रोकथामका लागि शैलुङ गाउँपालिकाले ६० लाखको कोष जम्मा गरी ३८ लाख ९९ हजार पाँचसय ७० रुपैयाँ खर्च गरेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।
सबैभन्दा कम २२ लाख रुपैयाँको कोरोना कोष स्थापना गरी जिरी नगरपालिकाले क्वारेन्टाइनमा तीन लाख र उपचार तथा औषधिमा ८ लाख रुपैयाँ खर्च गरेको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।
तेस्रो मुलुकबाट आएर भीमेश्वर नगरपालिकाको क्वारेन्टाइनमा बसेका यम खत्रीले भने, ‘बसोबासको व्यवस्था त ठिकै हो तर खाना भने भैंसीको खोलेजस्तो खाईयो ।’ मेलुङ गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका युवराज योगीले भने, ‘बरु कारागारको व्यवस्थापन राम्रो होला, न त खाना मान्छेले खाने खालको थियो, न त सुत्ने ठाउँ नै मान्छे सुत्ने जस्तो !’ जनगुनासो व्यापक आउँदा आउँदै पनि भीमेश्वर नगरपालिकाले ५२ लाखको कोष स्थापना गरी करिब ५० लाख खर्च गरेको जनाएको छ । मेलुङले ४० लाख, बैत्यश्वरले ७० लाख, तामाकोसीले ३० लाख र कालिञ्चोक गाउँपालिकाले ६० लाख रुपैयाँ खर्च गरेको जनाईएको छ ।
संघीय र बागमती सरकार तथा जिल्लाका स्थानीय तहहरुले कोरोना सतर्कता कोषमा संकलन भएकोमध्ये सबै तहमा गरि ४ करोड १४ लाख रुपैयाँ खर्च भएको स्थानीय तहहरुले जानकारी दिएका छन् ।