कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि नेपाली समाजमा संक्रमित, निको भएर घर फर्किएका र उनका परिवारलाई छिमेकीहरूबाट हेयपूर्ण व्यवहार हुने गरेको कुरा छ्याप्छ्याप्ती आइरहेका छन् । यसै सन्दर्भमा काठमाडौंको बानेश्वरस्थित सिभिल हस्पिटलका डाक्टर तथा नर्समाथि पनि उनीहरूको निवासस्थान नै पुगेर स्थानीय वासिन्दाले गरेको दुव्र्यवहार आफैंमा लज्जाजनक छ । महामारी आफैंमा कसैको चाहना वा इच्छाले लाग्ने रोग होइन । यो समग्र मानवजातिविरुद्ध आइलागेको महामारी हो । यसको सामना सबै मिलेर गरेमा मात्र सम्भव छ । तर, मानिसहरू एकले अर्कामाथि छोइछिटो गरेझैं कोरोना संक्रमित तथा तिनलाई रातदिन स्याहार र औषधोपचार गर्ने डाक्टर तथा नर्सलाई गलत नजरले हेरेर दुव्र्यवहार गर्न लागिपरेका छन् । यस्ता कार्यको अग्रभागमा पढेलेखेका समाजमा अगुवा र सुधारकका रूपमा समेत रहेका व्यक्तिहरूको लज्जाजनक सहभागिता देखिएको छ । यसले मानवजातिलाई शिर निहुराउने बनाएको छ । कोरोना महामारी, यसको रोकथाम र उपचारका ’boutमा केही पनि नजानेको मानिस सायदै होलान् । तर पनि जान्ने र बुझ्ने भनिएका मानिसको सामाजिक व्यवहारमा किन न्यूनतम मानवीय समवेदना हराउन पुग्छ ? यो विचारणीय बनेर आएको छ ।
कोरोना मानवजातिको साझा दुस्मन हो । यो कसैको मित्र, कसैलाई नछुने वा कसैको बैरी भएर आएको छैन । पृथ्वीमा रहेका अन्य भाइरस जसरी यो पनि प्रकृतिमा रहने जीवको रूपमा देखापरेको छ । यो मानव रहेसम्म हामीसँग रहनेछ । पृथ्वीबाट सायद मानव जीवन नै अन्त्य भएपछि यसको पनि अस्तित्व रहेको अनुभूत हुनेछैन । त्यसैले, कोरोना महामारी छोइछिटो गरेर वा महामारीले छोएकालाई तिरस्कार गरेर सकिने पनि छैन । यो सरुवा माहामारी हो । पछिल्लो समयमा हावाबाट, हावामा रहेका कण वा अणुबाट वा सामानबाट पनि सर्न सक्ने बताइएको छ । यदि यसो हो भने मानिसले मानिसलाई तिरस्कार गरेर, हेपेर वा छोइछिटो गरेर यो महामारी हामीबाट बिदा लिएर जाँदैन । बरु ढिलो वा चाँडो हरेकको घरमा बास बस्न आइपुग्नेछ । मानवीय भावनासहित संक्रमितसँग सामाजिक दूरी कायम गरेर र निको भएकाहरूसँग हातेमालो गरेर अघि बढ्नु जरुरी छ । यसका लागि संक्रमितलाई तिरस्कार के गरी गर्न सकिन्छ होइन, रोगको संक्रमणलाई के गरी रोक्न सकिन्छ भन्ने’bout दिमाग खियाउन जरुरी छ ।
स्वास्थ्य विशेषज्ञहरूले निको भइसकेका कोरोना संक्रमितसँग हातेमालो गर्न, अंकमाल गर्न र साथै बसेर सहकार्य गर्न कुनै पनि खतरा नहुने जनाएका छन् । यो मन्त्र वा झारफुक गरेको कुरा होइन, यो विज्ञानले प्रमाणित गरेको कुरा हो । कोरोना छ भनेर जसले भन्यो, त्यही डाक्टर, विषय विशेषज्ञ र उपचारकर्ता स्वयंले यो कुरा भनेका हुन् । त्यसैले, आँखाले नदेखे पनि कोरोना छ भन्ने हामी सबैले जसरी विश्वास गर्न पुग्यौं, त्यसैगरी निको भएका कोरोना संक्रमितसँग डराउनुहुँदैन भन्ने कुरा पनि विश्वास गर्न सक्नुपर्छ । कोरोना छ भन्दा विज्ञानमा विश्वास गर्ने र छैन भन्दा रूढिवादमा भर पर्ने पनि गर्नुभएन । अर्को महŒवपूर्ण कुरा निको भएका कोरोना संक्रमितको रगतबाट प्लाज्मा निर्माण गरेर कोरोना संक्रमितलाई दिई बचाउन सकिन्छ । यो उपचार निको भएका कोरोना संक्रमितबाट मात्र सम्भव छ । यो बढी भरपर्दो उपचार विधि पनि हो । त्यसैले, कोरोना संक्रमित बिरामी र निको भएका कोरोना संक्रमितलाई हेप्ने, दुव्र्यवहार गर्ने वा अस्वीकार गर्ने होइन, स्नेहपूर्वक मानवीय व्यवहार गर्न सिकौं । संक्रमणबाट सन्चो भएका व्यक्तिहरूको रगतमार्फत अन्य संक्रमितलाई बचाउनसमेत सकिने भएकाले सन्चो भएका व्यक्तिहरूसँग आत्मीय सम्बन्ध राख्नु नै सबैका लागि हितकर ठहरिनेछ ।