बागलुङ । नेपाली सेनाको लमजुङस्थित एक गणमा कार्यरत दुई सिपाही साउन ३० गते घर विदामा एउटै मोटरसाइकल चढेर बागलुङ आए । एक जना २५ बर्षीय पुरुष बागलुङ नगरपालिका–३ गुठी र अर्काे एक जना २१ बर्षीय पुरुष बागलुङ नगरपालिका–१० भकुण्डेका रहेका थिए । दुवै जना एउटै गणमा कार्यरत थिए ।
बानपा–३ का सैनिक जवानलाई कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएपछि उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पुगे । उनलाई ६ भदौको कोरोना पुष्टिभयो । युवामा संक्रमण देखिएपछि सम्पर्कमा रहेका व्यक्तिको स्वास्थ्य परीक्षण थालियो । पहिलो पटक उनको सम्पर्कमा रहेकी ५४ बर्षीया आमामा संक्रमण देखियो भने बिहिबारसँगै मोटरसाइकलमा आएका २१ बर्षीय साथी र परिवारका १९ र १७ बर्षीय महिलामा पनि कोरोना देखिएको छ ।
बागलुङमा बिहिबार एकै पटक ८ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये बानपा–३ की एक बर्षीय बालिका, बागलुङ नगरपालिका–८ का २४ बर्षीय पुरुष, क्वारेन्टाइनमा कार्यरत ३४ बर्षीय प्रहरी जवान र काठेखोला गाउँपालिकाका २१ र ३१ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक शुसिल पौडेलले जानकारी दिए ।