काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि निर्घात कुटपिट भएको विषयमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको र यसले राज्य आमूल परिवर्तनको बाटोमा गइसकेको अवस्थामा कानुनद्वारा प्रदान गरिएको नैसर्गिक अधिकार पूर्ण रूपमा नपाएको बताए । उनले चन्द्रकलामाथि भएको जघन्य एवं मानवताविरोधी कार्यले प्रचलित संविधान कानुन एवं कानुनी राज्यलाई नै चुनौती दिन खोजेको बताएका छन् ।
‘संविधानले दिएको नागरिक हक अधिकार एवं राज्यलाई समेत चुनौती दिनेगरी भएको सो पाशविक एवं अमानवीय घटनाको दोषीमाथि प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न राज्यका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको काम गर्दै आवश्यक सहयोग परिषद्बाट गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार राति झापाको मेचीनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेदसहित गालीगलौज गर्दै चन्द्रकला र उनका श्रीमान्माथि आक्रमण गरेका थिए । चन्द्रकलामाथि भएको आक्रमणको नेपाल एथ्लेटिक्स संघ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायसँग दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।