रौतहटका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु, थपिए ७९ संक्रमित

वीरगन्ज । पर्साको वीरगन्जमा उपचारका लागि ल्याएका रौतहटका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । वीरगन्जको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचार गराइरहेका ती पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।

पुराना मधुमेहका बिरामी समेत रहेका मृतक पुरुषलाई गएको शुक्रबार दम र खोकी बढेपछि नारायणी अस्पताल वीरगन्जमा उपचारको लागि ल्याएको नारायणी अस्पतालले जनााएको छ । अस्पतालमा ल्याएपछि तुरुन्त स्वाव पनि संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अस्थायी कोभिड अस्पताल गण्डकमा पठाइएको थियो । त्यहि उनको उपचारको क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा अतुलेश कुमार चौरसियाले बताए । मृतक रौतहटको राजपुरतुल्सीका ४० बर्षीय पुरुष भएको उनले बताए । निमोनिया भई कडा कोभिड संक्रमणले च्यापेपछि उनको मृत्यु भएको डा चौरसियाले बताए ।

शनिबार साँझ पनि रौतहटकै गम्हरिया ३ का ३० बर्षीय एक पुरुषको मृत्यु भएको थियो । यो सहित १२ घण्टा १० मिनेटको अन्तरमा कोरोनाका कारण वीरगन्जमा उपचार गराउन आएका २ रौतहटका पुरुषको मृत्यु भएको हो ।

पर्सामा मात्र कुल संक्रमितको संख्या २ हजार नाघ्यो
पर्सा, बारा, मोरङ्ग र काठमाण्डौका गरी वीरगन्ज क्षेत्रबाट फेरि ७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको स्वाव परिक्षणको रिपोर्टमा ७९ जना नयाँ संक्रमित थपिएका हुन् ।

शनिबार अबेर रातीसम्म गरिएको ४ सय ४२ जनाको स्वाव परिक्षणमा ७९ जनामा संक्रमण भेटिएको नारायणी अस्पताल वीरगन्जका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए । नयाँ भेटिएका संक्रमित मध्ये पर्साका जम्मा ४७ जना रहेका छन् । बाँकी बारामा ३०, मोरङ्गका १ र काठमाण्डौका १ जना रहेको उनको भनाइ छ ।

संक्रमित हुनेहरु ६ महिनाको बच्चादेखि ९७ बर्षसम्मको उमेर समूहका रहेका छन् । ‘दुई जनाको भने उमेर खुलाइएको छैन’, डा चौरसियाले भने । संक्रमित हुनेहरुमा पर्साको पोखरिया, वीरगन्ज महानगरका र बाराको विश्रामपुर, महागढीमाई जितपुर र कलैया नगरपालिका लगायतको क्षेत्रका रहेको नारायणी अस्पतालले जनाएको छ ।

पर्सामा पत्रकार मात्र १३ जना संक्रमित
नयाँ थपिएका संक्रमित सहित पर्सामा अहिलेसम्म कुल संक्रमित संख्या २ हजार १ सय १३ पुगेको छ । जसमा १ हजार ६ सय ५० पुरुष र ४ सय ६३ जना महिला रहेका छन् । पर्सामा संक्रमित भएकाहरु मध्ये २४ जना भारतीय, १३२ जना स्वास्थ्यकर्मी, ९० सुरक्षाकर्मी, १३ जना पत्रकार, १०७ जना कैदी तथा थुनुवा, ४९ जना अस्पतालका सफाइकर्मी, गार्ड, कार्यालय सहायक र ३ जना एम्बुलेन्स चालक रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

डिष्चार्ज हुनेको संख्या प्रदेश र जिल्लाको फरक
पर्सामा कोरोना मुक्त भई घर फर्कनेको संख्या प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय पर्साको तथ्याँकमा फरक पाइएको छ । सामाजिक विकास मन्त्रालयले पर्साका मात्र हालसम्म ७ सय ९२ संक्रमितले कोरोना जितेर डिस्चार्ज भएको जनाएको छ । तर जिल्ला प्रशासन कार्यालय पर्साले भने शनिबार अबेरसम्म कुल ६ सय ४७ जना मात्र कोरोना जितेर डिष्चार्ज भएको आफ्नो तथ्याँकमा उल्लेख गरेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या भने पर्सामा ३६ जना भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी