धनगढी । नोबेल कोरोना भाइरस (कोभिड १९) को चपेटामा रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना निको हुनेको संख्यामा पनि बृद्धि हुँदै गएको छ ।
पछिल्लो समय यो प्रदेशमा कोरोना निको हुनेको संख्या ४९२९ पुगेको छ । जबकी यो प्रदेशमा सोमबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५८०४ रहेको छ । यसमध्ये ११ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासन महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
कार्कीका अनुसार कोरोना निको भएर सबैभन्दा धेरै संक्रमित रहेको कैलालीबाट १३३१ जना घर फर्किएका छन् । त्यस्तै डोटीका ८०३, अछामका ७९५, कञ्चनपुरका ६१६ जना, बाजुराका ४४२ जना, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका २८० जना र दार्चुलाका ४१ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् ।
नौ वटै जिल्लामा गरी ४९२९ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । बाँकीको विभिन्न अस्पताल तथा आइसोलेसन राखेर उपचार हुँदै गरेको महाशाखा प्रमुख कार्कीको भनाई छ ।
कोरोना संक्रमितले उच्च मनोबलका साथ नआत्तिए नियमित ब्यायाम गर्ने, स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर सजकता अपनाउने, तातो र झोलपदार्थ पिउने गर्नाले कोरोना भाइरसलाई परास्त गर्न सकिने चिकित्सकले सुझाव दिएका छन् ।
सुदूरपश्चिममा पनि ‘प्लाज्मा थेरापी’ बाट संक्रमितको उपचार
सुदूरपश्चिम प्रदेशमा पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयले देशभरिका १५ अस्पताल स्वीकृत गरेको थियो । यसमध्ये धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पनि प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति पाएपछि आन्तरिक तयारी सुरु सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनले आन्तरिक तयारी गरिसकेकोले अब सेती अस्पतालमा पनि प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सक्ने बताए ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार सुरु गरिएको श्रेष्ठले बताए । ‘जटिलता किसिमको कोरोनाको बिरामी आएमा हामी एकैपटक पाँचजनासम्म बिरामीलाई यो विधिबाट उपचार गर्न सक्छौँ’, उनले भने ।
सेती अस्पतालका अनुसार बिरामीको अवस्था हेरेर चिकित्सकहरुले रेडक्रससँग समन्वय गर्नेछन् । कोरोना संक्रमितलाई प्लाज्मा थेरापी विधिको आवश्यकता परेमा संक्रमितको उपचारमा संलग्न चिकित्सकले कोरोनामुक्त भएकाहरूलाई आह्वान गर्छन् । त्यसपछि रक्तदाता सम्पर्कमा आएपछि रेडक्रसका माध्यमबाट रगत संकलन गरी त्यसबाट प्लाज्मा छुट्टाएर संक्रमितलाई उपचार गरिने छ ।
स्वास्थ्य मन्त्रालयको गाइडलाइनअनुसार आवश्यकताअनुसार प्लाज्मा बनाएर आफूहरुले सम्बन्धित अस्पतालमा उपलब्ध गराउनले रेडक्रस कैलाली सभापति उत्तम जोशीले बताए । ‘हाम्रो सम्पर्कमा कोरोनामुक्त भएकाहरु बस्छन्’, सभापति जोशीले भने, ‘स्वेच्छाले उनीहरूले रक्तदान गर्छन् । उनीहरूको शरीरबाट हामीले २ सय एमएल रगत निकाल्छौँ र त्यसबाट प्लाज्मा छुट्टाउँछौँ । त्यसलाई हामी सुरक्षित तरिकाले ब्लड बैंकमा राख्छौँ र आवश्यकता पर्नेबित्तिकै उपचारका लागी अस्पताललाई उपलब्ध गराउँछौँ ।’