वर्षा र सहकालका देवता: रातो मच्छिन्द्रनाथ

हरेक वर्ष ललितपुरमा रथयात्रा गरी रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथको ठूलो महŒव रहिआएको छ । वर्षा र सहकालमा देवताका रूपमा मान्दै आएका रातो मच्छिन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, ब्राह्मणले ब्रह्मा, नाथ सम्प्रदायले मच्छिन्द्रनाथका रूपमा मान्छन् । अक्षय तृतीयाका दिन महादेव र पार्वतीको शुभविवाह भएको दिन आर्यावलोकितेश्वरले आफू नाथ सम्प्रदायका भए पनि मत्स्य अवतारको रूपमा दर्शन दिनुभएकाले मच्छिन्द्रनाथ भनिएको हो । यसका साथै रातो मच्छिन्द्रनाथलाई लोकनाथ, त्रैलोकेश्वर, अवलोकितेश्वर, करुणामय, भृंगपाद आदि धेरै नामबाट मान्ने गरिन्छ ।

प्रसिद्ध बौद्ध ग्रन्थ कारव्यव्यूहमा उल्लेख गरिएअनुसार करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथलाई विष्णु सम्झेर पूजा गर्नेलाई विष्णुकै अवतार लिएर दर्शन दिनुहुन्छ, महादेव सम्झेर पूजा गर्नेलाई महादेवकै अवतारको दर्शन दिनुहुन्छ भने गणेश सम्झेर पूजा गर्नेलाई गणेशकै अवतारको दर्शन दिनुहुन्छ । त्यस्तै, राजा सम्झेर पूजा गर्नेलाई राजाकै रूपमा दशर्न दिनुहुन्छ भनिएको छ । नेवार समुदायमा बुंगद्यःका नामले प्रसिद्ध करुणामयको रथयात्रा १७औं शाताब्दीका राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको हो भनिन्छ ।

नेपालमा प्रत्येक वर्ष मनाइने विभिन्न जात्रामध्ये करुणामयको जात्रा उत्साह, उमंग र आस्थाअनुसार मनाइन्छ । खास गरेर ज्यापु समाजमा यो देवताको अत्यधिक प्रभाव देखिन्छ । ज्यापुको करुणामयप्रति विशेष श्रद्धा र आस्था हुनुको मुख्य कारण वर्षाका देवता भएकाले पनि हो । करुणामयलाई किन र कसरी वर्षाका देवता भनी मान्ने गरियो भन्ने कुरामा एउटा किंवदन्ती छ ।

त्यतिबेला गुरु गोरखनाथ नेपालमा आउनुभएछ । उहाँले घरै पिच्छे भिक्षा माग्न जाँदा कसैले पनि एक मुठी चामलसमेत दिएनछन् । अनि गोरखनाथ रिसले चुर भई वर्षाको मूल आधार भएका नौवटा नागको आशन बनाएर श्लेषमान्तक वनमा गई तपस्या गरी बसिदिनुभएछ । वर्षाका मूल आधार नागहरू गोरखनाथको आशनमा परेकाले १२ वर्षसम्म पनि पानी परेनछ । देशमा अनिकाल भयो, चारैतिर हाहाकार भयो, जनता त्राहिमाम भन्दै चिच्याउन थाले । यस्तो भयानक डरलाग्दो अवस्था आएकाले भक्तपुरका राजा नरेन्द्रदेवले काठमाडौंका तान्त्रिक बन्धुदत्तसँग सल्लाह गर्दा गोरखनाथका पनि गुरु करुणामयलाई आसामको कामरूप कामाख्याबाट ल्याउन सकेमा गोरखनाथलाई तपस्याबाट उठाउन सकिनेछ अनि अनिकाल हट्नेछ भनी बन्धुदत्तले सल्लाह दिए । त्यही सल्लाहअनुसार भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त र ललितपुरका रथचक्र ज्यापु तिनै जनाले बढो संघर्षपूर्ण प्रयास गरेर आसामबाट करुणामयलाई ल्याउन सफल भएको हो ।

पहिले भक्तजनले बुंगमतीबाट ललितपुरको लगनखेलसम्म र ललितपुरबाट बुंगमतीसम्म रथ तानेरै जात्रा मनाइन्थ्यो

गोरखनाथले आफ्ना गुरु करुणामय नेपालमा सवारी भएको थाहा पाई हत्त न पत्त उठेर गुरुको दर्शन गर्न गए । गोरखनाथले आफ्नो आशनबाट उठ्नेबित्तिकै आशनमा बसेका नौवटै नाग आआफ्ना स्थानमा गए । त्यसपछि जलवृष्टि भएर पुनः सहकाल भयो ।

करुणामयलाई आफ्नो देशमा ल्याइरहेको बेलामा बाटोमा आउँदाआउँदै तीन जनाको बीचमा करुणामयलाई अब कहाँ राख्ने भन्ने विषयमा विवाद भएछ । भक्तपुरका राजा नरेन्द्रदेवले आफ्नो देशमा राख्ने, काठमाडौंमा तान्त्रिक बन्धुदत्तले काठमाडौंमा राख्ने अनि देवता बोकेर ल्याउने ज्यापु रथचक्रले ललिपतुरमा राख्ने भन्ने विवाद भएछ । यसरी विवाद भइरहँदा ललितपुरका राजा सिद्धिनरसिंहले ललितपुरका सबै भन्दा ज्येष्ठ नागरिकलाई दही चिउरामा नुन राखी खुवाएर नुनको सोझो गर्नुपर्छ भनी सातवटा ओखलमाथि उभ्याएर करुणामयलाई ललितपुरमैं राख्नुपर्छ भन्न लगाएका छन्, जुन कुरालाई सबैले माने भनिन्छ ।

अर्को एउटा भनाइअनुसार करुणामयलाई आसामबाट ल्याइरहेको बेलामा जंगलमा पुग्दा धेरै गह्रौं भएर आएछ । बोकी राख्न नै नसक्ने अवस्था आएछ । तान्त्रिक बन्धुदत्तले ध्यान गरेर हेर्दा करुणामय त्यही स्थानमा बस्न चाहेको कुरा थाहा भयो । अनि उनीहरूले सल्लाह गरेर देवतालाई सोही स्थानमा बिसाइदिए रे । त्यो जंगल भनेकै हालको बुंगमती हो । उनीहरूले फेरि गरेको सहमतिअनुसार करुणामयलाई ६ महिना बुंगमती र ६ महिना ललितपुरमा राख्ने निर्णय गरे । १६७७ मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले ज्योतिषलाई साइत देखाई उत्तरायण र दक्षिणायन ६–६ महिनाका लागि ललितपुर र बुंगमतीमा करुणामयलाई राख्ने चलन चलाएका हुन् भनिन्छ । सबैभन्दा लामो रात्रि मंसिर महिनाको शुक्लपक्ष पूर्णिमा (यःमरी पुन्ही)अघि नै ६ महिनाका लागि बुंगमतीबाट ललितपुरमा करुणामयलाई ल्याई धानको चामलबाट यःमरी बनाई सबैभन्दा पहिला करुणामयलाई चढाउने चलन छ । त्यस्तै, वर्षको सबैभन्दा लामो दिन जेठ शुक्लपक्ष पूर्णिमा (ज्या पुन्ही)भन्दा अगावै ६ महिनाका लागि ललितपुरबाट करुणामयलाई बुंगमती लगिन्छ ।

वर्षा र सहकालका देवताका रूपमा मान्दै आएका करुणामयलाई पुरुष र स्त्री दुवैको १० कर्म गरी मान्ने चलन छ । हिन्दू र बौद्ध भक्तजनले संयुक्त रूपमा मान्ने गर्छन् । करुणामय वर्षा र सहकालका देवता भएकाले अन्नदाता भनेर पनि मान्ने गरिन्छ । उपत्यकामा सर्वप्रथम बौद्ध सम्मेलन भएको बुंगमतीमा करुणामयको शिखर शैलीको मन्दिर छ । मंगल शैलीका नौवटा गजुर, २२ वटा पाषाणका स्तम्भ र गजुरमा शंख, चक्र, गदा, पद्म पनि छन् । राजा नरेन्द्रदेवले यो मन्दिर बनाएका हुन् । तर, २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले करुणामयको यो मन्दिर पूरै भत्कियो र अहिले निर्माण कार्य भइरहेको छ ।

प्रत्येक वर्ष करुणामयको रथ यात्रा गर्ने सन्दर्भमा १५ दिन अघिदेखि नै जात्राको वातावरण सुरु भइसक्छ । वैशाख कृष्ण प्रतिपदाका दिन लगनखेलमा रहेको स्नान दवूमा राखी करुणामयलाई महास्नान गराइन्छ । महास्नानपछि तान्त्रिक विधिअनुसार करुणामयको मूर्तिबाट प्राण तानेर कलशमा स्थापित गरिन्छ । ज्योतिषले साइत हेरेर महास्नान र मृत्यु संस्कारको मिति तोक्ने चलन छ । महास्नानपछि करुणामयलाई मृत घोषित गरी मृत्यु संस्कारका सबै कार्य धार्मिक परम्पराअनुसार सम्पन्न गरिन्छ ।

यो संस्कारमा करुणामयको खट बोक्ने मानिस, पूजारी र गुठियार भेला भएर महास्नानपछि काठमाडौंको म्हैपीको माटो ल्याई करुणामयको मूर्तिमा राखेर रंगरोगन गर्दै प्राण प्रतिष्ठा गर्ने चलन छ । करुणामयको महास्नानकै दिन पुल्चोकमा राति रथ बनाउने सुरु गरिन्छ । १५ दिनभित्रै रथ बनाउने कार्य सकाइन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन ३२ हात लामो रथमा करुणामयलाई लोककीर्ति महाविहार तःवहालदेखि गुरुजु पल्टन र राजा सिद्धिनरसिंह मल्लको खड्ग पनि ल्याई रथमा विराजमान गराइन्छ । चार दिनपछि अर्थात् वैशाख शुक्ल चतुर्थीका दिन करुणामयको रथ तानेर गाःबहालमा पु-याइन्छ ।

गाःबहालका मानिसले याः न्यायेकेगु भन्दै करुणामयको पूजाआजा गरी भोजभतेर गर्छन् । गाःबहालको जात्रालाई तान्त्रिक गुरु बन्धुदत्तका अनुसार काठमाडौंवासीको जात्रा भनी मान्ने गरिन्छ । गाःबहालबाट नुगलमा रथयात्रा गरिन्छ भने नगुलबाट लगनखेलमा लगिन्छ । त्यहाँ करुणामयका आमादेवी भएको मांसिमा रुखलाई करुणामयको रथले परिक्रमा गराइन्छ । लगनखेलमै करुणामयलाई नरिवलले अभिषेक गराई रथको टुप्पोबाट नरिवल खसाइन्छ । यसरी खसाएको नरिवल समात्न हुलमुलमा तछाडमछाड गर्दै भक्तजनले धेरै संघर्ष गर्छन् । जसले नरिवल समाउन सक्यो उसलाई पुत्रलाभ हुन्छ, उसको शुभमंगल हुन्छ भन्ने जनविश्वास रहिआएको छ । भोलिपल्ट बिहान महिलाले करुणामयको रथ तान्ने गर्छन्, यसलाई याकः मिसाया भुज्याः भनिन्छ । करुणामयको रथ तानेर जावलाखेलमा पुगेको पर्सिपल्ट पुल्चोकका भक्तजनले छ्वयला चिउराको भोज खाई राति भात छर्ने चलन छ । यसरी भात छर्ने अर्थात् जाः ह्वलेगु ठाउँ भएकोले यस ठाउँको नाम नै जाः ह्वलाः ख्यः अर्थात् जावलाखेल भएको हो भनिन्छ ।

पहिले भक्तजनले करुणामयको रथयात्रा बुंगमतीबाट ललितपुरको लगनखेलसम्म र ललितपुरबाट बुंगमतीसम्म रथ तानेरै जात्रा मनाइन्थ्यो । तर, पछि गएर यसरी रथयात्रा गर्न धेरै गााह्रो भएकाले हरेक वर्ष करुणामयको रथ तानेर ल्याउने र लाने गर्नु सट्टा १२ वर्षमा एकपटक मात्र यसरी रथ तानेर लैजाने र ल्याउने गर्ने चलन चलाएको हो । यही चलनअनुसार २०७२ सालमा बुंगमतीबाट करुणामयको रथयात्रा गरेर ललितपुरमा ल्याई जात्रा गरेपछि पुनः बुंगमतीमा फर्काउँदा पनि रथ तानेरै लगेका थिए ।

स्मरण रहोस्, यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा वैशाखमा हुनुपर्नेमा कोभिड–१९ कोरोनाको कारण देशमा लकडाउन भएकाले हुन नसकी हाल आएर श्रावण १० गते करुणामयको मूर्ति पुल्चोकमा रथमा विराजमान गराइएको छ । तर पनि रथ तान्ने कार्य भने अघि बढ्न सकोको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने