मड्रिड । नयाँ सिजनको स्पेनिस ला लिगाको प्रतिष्ठित पहिलो ‘ईएल क्लासिको’ अक्टोबरमा हुने भएको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ)ले जारी गरेको नयाँ सिजनको खेल तालिकाअनुसार सिजनको पहिलो ‘ईएल क्लासिको’ अर्थात् बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त सातांै राउन्डमै अक्टोबरमा हुने भएको हो । खेल बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा २५ अक्टोबरमा हुनेछ । दोस्रो ईएल क्लासिको रियल म्याड्रिडको घरेलु मैदानमा ११ अप्रिल २०२१ मा हुनेछ । जुन ला लिगाको ३०औं राउन्डको खेल हो ।
नयाँ सिजनको ला लिगा १३ सेप्टेम्बर २०२० बाट सुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । अगस्टमा युरोपियन प्रतियोगितामा संलग्न पाँच टोली र शीर्ष डिभिजनमा बढुवाका लागि प्ले अफ खेलेको टोलीले सिजनको पहिलो राउन्डमा सहभागी हुनेछैन । जसमा युरोपियन प्रतियोगितामा सहभागी एट्लेटिको मड्रिड, सेभिल्ला, रियल म्याड्रिड, बार्सिलोना र शीर्ष डिभिजनमा बढुवाका लागि प्ले अफ खेलेका इल्चे रहेका छन् । यि टोलीहरूको खेल नयाँ वर्षसम्म कुर्नुपर्ने हुन सक्नेछ ।
एट्लेटिको, बार्सिलोना, सेभिल्ला र इल्चेको दोस्रो राउन्डको खेल पनि स्थगित हुनेछ । उनीहरूले रियल म्याड्रिड र गेटाफेभन्दा पछि सिजनको अन्तिम खेल खेलेका थिए । ग्रानडाले ला लिगाको चौथो राउन्डको खेल हुने समयमा युरोपा लिगको प्ले अफ खेल्नुपर्ने भएकाले सेप्टेम्बर ३० मा ओसासुनासँग हुने भनिएको खेल १२ जनवरीमा हुने ला लिगाले जनाएको छ । यस्तै, ला लिगाले कुनै पनि समस्या नआए २३ मार्चमा सिजन सकिने बताएका छन् ।
बार्सिलोनाले घरेलु मैदानमा इल्चेसँग खेल्ने तालिका भए पनि अब तेस्रो राउन्डबाट बार्सिलोनाले नयाँ सिजन सुरुवात गर्नेछ । यस्तै, रियल म्याड्रिडले दोस्रो राउन्डबाट नयाँ सिजन सुरुवात गर्नेछ । बार्सिलोनाले अवे मैदानमा एईवरसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लारियलसँग खेल्दै सिजनको अन्त्य गर्नेछ । अघिल्लो सिजनको क्लासिकोमा एक खेल रियल म्याड्रिडले २–० ले आफ्नो पक्षमा पार्दा एक खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै म्याड्रिड डर्वी (रियल र एट्लेटिको)बीचको पहिलो खेल रियलको घरेलु मैदानमा १३ डिसेम्बर २०२० मा तथा दोस्रो खेल एट्लेटिकोको मैदानमा ७ मार्च २०२१ मा हुनेछ ।