काभ्रेपलाञ्चोक । काभ्रेमा जेठाजुले बुहारीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । बिहिबार बिहान साढे ६ बजे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित अधिकारी टोलका ४२ वर्षीय सुदर्शन अधिकारीले आफ्नै बुहारी ३७ की रन्जना तिमल्सिना अधिकारीलाई बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घटना लगतै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले सुदर्शनलाई घट्नामा प्रयोग भएको बन्चरो सहित घट्नास्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबाट प्राप्त अनुसन्धान अनुसार घरायसी विवादका कारण सुर्दशनले रञ्जनालाई दायाँ पट्टी घाँटीमा र टाँउकोको पछाडी बायाँ पट्टी धारिलो हतियारले प्रहार गरी हत्या गरेको जिल्ला प्रहारी कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।
हत्यापश्चात रञ्जनाको छोरा कुशल अधिकारीले फेसबुकमार्फत हत्यारा सजायको माग गर्दै लेखेका छन्,‘मेरो ममीलाई जसले मारेको हो, त्यसलाई फासी होस्’ । ‘बाबाले रक्सी खाएर ममीसँग पैसा माग्ने पिट्ने गर्नुुहुन्थ्यो । रिस उठनायौँ भने काट्दिन्छु भन्दै बाबा र ठूलो बाबाले धम्की दिनु भएको थियो । म मामाघर गएको बेलामा मेरो ममीलाई मारे ।’ भनेर उनले आफ्नो फेसबुकको स्ट्याटसमा लेखेका छन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले बताए । उनका अनुसार घटनास्थल तथा लासजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि फोरेन्सिक मेडिसिन विभाग काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाईएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।