बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकाले पछिल्लो समयमा पीसीआर परीक्षणको दायरालाई ब्यापक बनाउँदै समुदायस्तरमै स्वाब संकलन गर्न थालेको छ । पीसीआर परीक्षणका लागि समुदायस्तरमै स्वाब संकलन गर्न थालेपछि यहाँ कोरोना संक्रमितको संख्या पनि बढन थालेको छ ।
शुक्रबार एकै परिवारका ४ जना गरि ६ जनामा कोरोना पुष्टि भएको छ । केही दिन अघि एक जना शैलुन व्यवसायीलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका परिवार र शैलुनमा कपाल कटाउन आएका व्यक्तिको पीसीआर परीक्षण गर्दा ४ जना शैलुन व्यवसायीकै परिवार र कपाल कटाउन आएका मध्ये २ जनाका कोरोना देखिएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यो सँगै बारबर्दिया नगरपालिकामा कोरोना संक्रमितको संख्या २७ पगेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गोविन्द पौडेलले बताए ।
क्वारेनटाइनमा बसेका व्यक्तिहरुमा संक्रमण न्यून देखिएपछि नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणको दायरा बढाएको हो । पालिकाले हालसम्म १ हजार २५९ जनाको पीसीआर परीक्षण गरिसकेको जनाएको छ । जसमध्ये ५ सय भन्दा बढी समुदायस्तरमा परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार पालिकामा हाल ४० जना क्वारेन्टाइनमा छन् । भने ९ जना आइशोलेसनमा उपचारारत् छन् ।
पालिकाले हरेक वडामा ४० जना व्यक्तिका दरले पीसीआर परीक्षण गर्दै आएको छ । नगरका मुख्य बजारका खाद्य व्यापारी, गाउँ टोलका बड्घर, चौकीदार, विभिन्न संघ समूहमा आवद्ध अगुवा, सामाजिक अभियान्ता, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, अटो रिक्सा चालक, समूहमा काम गर्ने मजदुरलगाएतका व्यक्तिहरुको पहिचान गरि पीसीआर परीक्षण गर्ने गरिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख थारुले जानकारी बताए ।
समुदायस्तरमा संक्रमण फैलन नपाओस् भनेर बारबर्दिया नगरपालिकाले पीसीआर परीक्षणको दायरा बढाउँदै लगेको नगरप्रमुख थारुले बताए ।कोरोना जोखिमलाई मध्यनजर गरि पालिका प्रवेश गर्ने मुख्य २ वटा नाका बैदी र जब्दीघाटमा हेल्पडेक्स स्थापना गरिएको नगरपालिकाले जनाएको छ । पालिका भन्दा अन्यत्र स्थानबाट औषधी उपचार गरेर फर्कर्ने व्यक्तिहरुलाई ५ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाइएको छ । ५ दिन पछि ती व्यक्तिहरुको पीसीआर परिक्षणका लागि स्वाब संकलन गर्ने गरिएको पालिकाले जनाएको छ ।