पेरिस । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएपछि अन्य खेलाडी तथा पदाधिकारीको कोरोना परीक्षण गर्दा थप तीन खेलाडीमा कोरोना पुष्टि भएको हो ।
पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लोपटकको कोरोना परीक्षणमा थप तीन खेलाडीमा कोरोना पुष्टि भए पनि नाम भने गोप्य नै राखेको छ । ला इक्विपेका अनुसार पछिल्लोपटक गोलरक्षक केलर नाभास, डिफेन्डर मार्किन्हस र फरवार्ड मोउरो इकार्डीमा कोरोना पुष्टि भएको दाबी गरेको छ । एक साताको बीचमा ६ जना खेलाडीमा कोरोना पुष्टि भएसँगै पीएसजीको नयाँ सिजनको यात्रा थप अन्योल बढेको छ । कोरोना पुष्टि भएका सबै ६ खेलाडी क्वारेन्टिनमा बसिसकेका छन् । अगस्ट अन्तिम साता च्याम्पियन्स लिगको फाइनलपछि खेलाडीहरूले विश्राम पाउँदा छुट्टी मनाउन स्पेनको इबिजा बिचमा पुगेका थिए ।
फ्रान्सेली लिगको नियमअनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । लिगको नियमअनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ । भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो । पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका छ । तर, अब यो नहुने सम्भावना बढेको छ ।