बर्दिया । गिद्ध प्रकृतीका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले ’roundको वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
तर, पछिल्लो समयमा यिनै प्रकृतीका कुचिकार मानिने गिद्धहरु लोप हुँदै गएका छन् । नेपालमा हाडफोर, सेतो, डंगर, लामो ठूँडे, सानो खैरे, हिमाली, खैरो, राज र सुन गिद्ध गरी जम्मा ९ प्रजातीका गिद्धहरु रहेका छन् । जसमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुँडे गिद्ध र सुन गिद्ध अति संकटापन्न अवस्थामा रहेका छन् ।
नेपालमा पाइने गिद्ध मध्ये डंगर गिद्ध भने पूर्णरुपमा लोप हुने अवस्थामा पुगेको पंछी संरक्षणकर्मीहरु बताउँछन् । ‘अन्य गिद्धहरु पनि लोप हुने अवस्थामा छन् । तर, डंगर गिद्ध भने निकै संकटमा परेको छ,’ बर्दिया प्रकृती संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाहीले भने ।
गिद्धहरु लोप हुँदै जानुमा पशुहरुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक नै प्रमुख कारण भएको अध्ययनले देखाएको छ । यो औषधी प्रयोग गरेर उपचार गरिएको पशु मरेमा त्यसको सिनो गिद्धहरुले खाने र त्यही कारणले मृगौलामा संक्रमण भएर मर्ने गरेको संरक्षणकर्मीहरुको भनाई छ । प्रकतिबाट गिद्धहरु विनाश भएमा सिनोबाट उब्जने रोगहरु हैजालगायतका महामारी जन्य रोगहरुको प्रकोप बढ्ने खतरा निकै रहने स्वास्थ्यकर्मीहरुको भनाई छ । वन्यजन्तु, घरपालुवा तथा मावनलाई सिनोबाट उब्जन सक्ने विभिन्न प्रकारका रेबिज, बु्रस्रालोसिस र एन्थ्राक्स जस्ता रोगहरु फैलिने सम्भावना निकै रहने अध्ययनले देखाएको छ ।
गिद्धहरु लोप हुँदै जानुमा पशुहरुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक नै प्रमुख कारण भएको अध्ययनले देखाएको छ । यो औषधी प्रयोग गरेर उपचार गरिएको पशु मरेमा त्यसको सिनो गिद्धहरुले खाने र त्यही कारणले मृगौलामा संक्रमण भएर मर्ने गरेको संरक्षणकर्मीहरुको भनाई छ
गिद्धको बासस्थानका रुपमा मानिएको अग्ला सिमलका रुखहरु काटिनु पनि गिद्ध लोप हुनुको अर्को कारण मानिन्छ । खुला सिमाका कारण डाइक्लोफेनेक औषधी भारतबाट नेपाल भित्रदा गिद्ध संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीहरुको भनाई छ । हाल नेपालमा करिव १५ देखि २० हजार गिद्ध रहेको बताइन्छ ।
गिद्ध प्रकृतीको एक अभिन्न अंग रहको तर यो लोप हुँदै गएकोले यसको संरक्षणमा सबैले चासो देखाउने पर्नेमा संरक्षणकर्मीले जोड दिए । ‘गिद्ध वातावरणको अभिन्न अंग हो । यिनीहरु अहिले संकटमा छन् । सबै सरोकारवालाहरुले गिद्धको संरक्षणमा ध्यान दिनु जरुरी छ,’ बर्दिया प्रकृति संरक्षण क्लबका सचिब राजन चौधरीले भने ।
विगत वर्षको तुलनामा केही वर्ष यता भने गिद्धको संख्या बढ्दो क्रममा रहेको संरक्षणकर्मीहरु बताउँछन् । नेपालका विभिन्न ठाउँठाउँमा गिद्ध शुद्ध आहार केन्द्र स्थापना हुनु, जनस्तरमा चेतना बढ्दै जानु र सरकारले केही वर्ष अघि डाइक्लोफेनिक नामक औषधीमा प्रतिवन्ध लगाउनुले गिद्ध संरक्षणमा टेवा पुगेको बर्दिया प्रकृती संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाहीले बताए ।
अग्ला र गिद्ध वासस्थानका लागि उपयक्त रुखहरु कटानमा बन्देज, काल गतिले मरेका, विषादीमुक्त सिनाहरुलाई गिद्ध वासस्थान भएको क्षेत्रको खुला ठाउँमा फालेर गिद्ध संरक्षणमा सहयोग पुग्ने संरक्षणकर्मीहरुको भनाई छ । पछिल्लो समय लोपउन्मुख गिद्धहरु संरक्षणका लागि कैलालीको खुटीया, दाङ्गको लालमटिया र बिजौरी, रुपन्देहीको कडौवाताल, नवलपरासीको पिठौली र कास्कीको घाटुकमा पनि गिद्ध शुद्ध आहार केन्द्र खुलेका छन । चितवनको कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरिएको छ ।
१२ औँ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर शनिबार बाँके, बर्दिया, दाङ्ग, नवलपरासी र चितवनमा गिद्ध संरक्षणका लागि संरक्षणकर्मीहरुले सचेतनामूलक कार्यक्रम संचालन गरे । कोरोना महामारीका कारण विभिन्न ठूलो समूहमा कार्यक्रम संचालन गर्न नपाए पनि यस वर्ष बर्दियामा गिद्ध अवलोकन, वन्यजन्तु फोटाग्राफर र नयाँ प्रकृति पथ पर्दशकहरुलाई गिद्ध तथा पंछी अवलोकन गराइएको प्रकृती संरक्षण क्लब बर्दियाका अध्यक्ष रामबहादुर शाहीले बताए । ।
गिद्धहरु लोप हुँदै जानुमा पशुपन्छीमा डाइक्लोफेनेक औषधीको प्रयोग नै मुख्य कारण रहेको ठहर गर्दै नेपाल सरकार, औषधी ब्यवस्था विभागले २०६३ सालदेखि नेपालमा यसको उत्पादन, प्रयोग र बिक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । यसको उत्पादन, प्रयोग, बिक्रिवितरण, आयात निर्यात र भण्डरण गरेको पाइएका ३ वर्ष कैद वा ५ हजार रुपौँया जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।
फोटो सौजन्य : प्रकृती संरक्षण क्लब बर्दिया