सप्तरी, राजविराज । भारतीय यूवाहरुको कुटपिटबाट सप्तरीको एक जनाको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
।
सप्तरीको डाक्नेश्वरी नगपालिका ६ कटैया निवासी ५५ वर्षिय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको हो ।
गत भदौं ६ गते ५÷६ जनाको समूहमा रहेका भारतीय युवाहरुले नेपालतर्फको धान खेतमा गाइबस्तु ल्याएर चराउन थालेका थिए । आफ्नो खेतमा भारतीय पशुचौपायाले धानबाली नष्ट गरेपछि यादव र उनका २७ वर्षिय छोरा ललनले गाली गलौज गरेपछि विवाद सुरु भएको थियो ।
गाइबस्तु चराउन आएका भारतीय गोठालाहरुले बाँसको लाठी तथा घरेलु हतियारले आक्रमण गरेपछि रामदेव गम्भिर घाइते भएका थिए भने उनका छोरा समेत कुटिएका थिए ।
गम्भिर अवस्थामा रामदेवलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न भारत बिहार राज्यको लौकही जिल्ला करिऔत ग्रामपञ्चायत निवासी ३६ वर्षिय प्रदीप यादवलाई घटनाकै दिन पक्राउ गरि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको तथा अन्य फरार रहेकाहरुको भारतीय सुरक्षा अधिकारीको समन्वयमा खोजि कार्य जारि रहेको इलाका प्रहरी कार्यालय पातोका इन्चार्ज नवीनकुमार झाले जानकारी दिए ।