धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार सुरु गरिएको छ । सेती अस्पताल अन्तरगत रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनको सघन उपचार कक्षमा उपचाररत धनगढी उपमहानगरपालिका की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो ।
अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले संक्रमित महिलाको अवस्था जटिल भएकोले उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरेको बताए । कोरोनाबाट संक्रमण मुक्त भएका धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए ।
कोरोना संक्रमण पछि गम्भिर अवस्थामा पुगेकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमण मुक्त भएका व्यक्तिको प्लाज्मा गम्भीर प्रकृतिका संक्रमितमा ट्रान्समिट गरे कोरोनालाई न्युटिलाइज गर्ने चिकित्सकको भनाई छ । संक्रमण मुक्त भएका व्यक्तिको शरीरले एन्टीबडी बनाइसकेको हुनाले भाइरससँग लड्न मद्दत पुग्ने विश्वास गरिन्छ ।