काठमाडौं । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा आंशिक खुकुलो हुने भएको छ । लकडाउनको मोडालिटी परिवर्तनवारे अनुमोदनका लागि मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाएका छन् । गृहबाट अनुमति आउने बित्तिकै तीनै जिल्लामा निषेधाज्ञामा केही खुलुलोपन लागु हुने छ ।
नयाँ मोडलमा जोर बिजोर प्रणालीमा निजी सवारीलाई सञ्चालन हुन दिने, दैनिक उपभोग्य समानका पसल समय तोकेर सञ्चालन गर्ने रहेको छ । त्यस्तै निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको छ ।
निरन्तरको लकडाउन समाधान नभएको धारणा राख्दै उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिदै आएका छन् । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहितको कडा सुरक्षा व्यवस्था गरेर उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए । उक्त निषेधाज्ञा अहिलेसम्म जारी छ । निषेधाज्ञा जारी रहेपनि उपत्यकामा संक्रमण घटेको छैन । अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ४८ हजार नाघिसकेको छ।