काठमाडौं । कोरोना संक्रमणका कारण आर्थिक रुपमा समस्यामा परेकालाई हिमानी कोषले खाना खुवाउने कामको सुरुवात गरेको छ ।
पूर्व युवराज्ञी हिमानी शाह संरक्षक रहेकाे उक्त काेषले कोरोना संक्रमणका कारण उत्पन्न आर्थिक समस्याबाट गुज्रिरहेका नागरिकलाई खाना खुवाउने कार्यको थालनी गरेको हो । कोरोना भाईरसका कारण उत्पन्न आर्थिक समस्याबाट लाखौँको रोजीरोटीमा समस्या आएकाले कोही पनि व्यक्ति दुई छाक खानाबाट वञ्चित हुन नपरोस भनेर खाना वितरण गरिएको काेषले जनाएको छ ।
अहिले कोषले काठमाण्डौ उपत्यकाका खुलामञ्च, कोटेश्वर, तिलगंगा लगायतका स्थानमा दैनिक कम्तिमा ३ सयजनालाई तयारी खाना वितरण गरिरहेको छ ।
खाना खुवाउने कार्यलाई आउदा दिनमा अझ तिव्रता दिने संस्थाले जनाएको छ । कोषका एक दर्जन स्वयंसेवकहरुले दैनिक खाना वितरण गरिरहेका छन् । कोषले यस बाहेक कोरोना विरुद्ध लड्न सुरक्षा सामग्री, खाना, औषधि लगायतका सामग्रीहरु वितरण गरिरहेको छ ।