बुटवल । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उहाँहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाइसमेत गुम्न सक्ने र बीचमै पढाइ छाड्ने दर बढेर जाने खतरा रहेको समेत औँल्याइएका छन । रोटरी क्लब अफ बुटवलको आयोजना र रिजन फाइभ अन्तर्गतका रोटरी र रोट-याक्ट क्लबहरुको सहआयोजनामा भएको शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास विषयक भर्चुअल अन्तक्र्रियाका वक्ताले यस्तो धारण व्यक्त गरेका हुन् ।
रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्योलतासँगै चुनौती थपिएको बताउनुभयो । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाइ छाड्ने दर बढ्ने खतरा रहेको उहाँको भनाइ छ । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाइ सहज मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उहाँले सङ्कटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरियनहरुको भूमिका बढेको बताए ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिँदै आगामी असोज १ गतेदेखि लागू हुनेगरी सिकाइ सहजीकरण निर्देशिका ल्याइएको बताउनुभयो । विज्ञको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भए पनि शैक्षिक सत्र खेर जान नदिइने उहाँको भनाइ छ । प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्प’bout मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालय भने वैकल्पिक सिकाइमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
निजी तथा आवासीय विद्यालयहरुको सङ्गठन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले सिकाइ निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिले देशभरका दुई हजारभन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरतमध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने सम्भावना रहेको भन्दै उहाँले २० प्रतिशत विद्यार्थीले निजी स्कूल छोड्न सक्ने सम्भावना पनि उहाँले औँल्याउनुभयो । उहाँले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि माग गर्नुभयो ।
रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्ट्रिक ३२९२ का चेअर एवं पिडिजी तीर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियान’bout जानकारी गराउँदै शत्प्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई इ–लर्निङप्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि बताउनुभयो ।
अन्तक्र्रियामा रोटरी क्लव अफ बुटवलका पुर्वअध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्र ध्वजू, अर्का पुर्व अध्यक्ष राजेन्द्र लम्साल, पिडिजी किरण श्रेष्ठ, सञ्जय गिरीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । क्लवका अध्यक्ष सुनिल श्रेष्ठले १३२९ औं नियमित बैठकका साथै कोरोना भाइरसका कारण शिक्षा क्षेत्र अस्तव्यस्त अवस्थामा पुगेकाले विज्ञहरुलाई सहभागी गराएर शिक्षामा अवको योजना’bout अन्तक्र्रिया गरिएको जानकारी गराए । भर्चुअल अन्तक्र्रियामा रोटरीयन, रोटयाक्ट र शिक्षा क्षेत्रसँग सम्बद्ध करिव साढे २ सय जनाले सहभागिता जनाएका थिए ।