अन्त्येष्टिपछि कोरोना पुष्टि, दुई सय मलामी क्वारेन्टिनमा

पोखरा । पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारक्रममा मृत्यु भएकी एक महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ । उनको अन्त्येष्टिमा मलामी गएका  प्रदेश सांसदसहित झण्डै २ सय जना मानिसहरु क्वारेन्टाइन बसेका छन् ।

कास्कीको माछापुच्छे« गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ४५ वर्षीया ती महिलाको भदौ २६ गते राति १ बजेर १५ मिनेटमा मृत्यु भएको थियो ।

ब्लड क्यान्सरबाट पीडित ती महिलाको ३ दिनदेखि अस्पतालको आइसीयूमा राखेर उपचार हुँदै आएकोमा शुक्रबार मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।

मृतकका आफन्तका अनुसार अस्पतालले कोरोना नभै अन्य कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने विश्वास दिलाएपछि शव बुझेर शुक्रबार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको थियो ।

पोखराका एक अग्रज पर्यटन व्यवसायीको धर्मपत्नी भएकोले पनि अन्त्येष्टिमा सहभागी मलामीहरु आफन्तका अलावा पर्यटन व्यवसायी, गण्डकी प्रदेश सांसद रामजी बराल जीवन, राजीव पहारी,माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, अन्य जनप्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत झण्डै २ सयको संख्यामा उपस्थित रहेको बताइएको छ ।

गत बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा शनिबार बिहानमात्र रिपोर्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । यसैबीच, कन्ट्याक्ट ट्रेसिङ आधारमा मलामी गएका सबैलाई होम क्वारेन्टिन बस्न भनिएको पोखरा महानगर स्वास्थ्य महाशाखाले निर्देशन दिएको छ ।

यता, मृतकका आफन्तले अस्पताल प्रशासनको लापरबाही भएको बताएका छन् । उनीहरुले रिपोर्ट नआउँदै कोरोनाको कारण नभै अन्य कारणले ज्यान गएको भनी आश्वस्त पारेपछि शव बुझेको र रिपोर्ट भने पोजेटिभ आएकोले यसको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने बताएका छन् ।

उता, फिस्टेल अस्पतालका अध्यक्ष अशोक पालिखेले निजी अस्पतालले पठाएको नमुना रिपोर्ट ३ दिन कम्तीमा लाग्ने भएपछि द्रूत रिपोर्ट जाँच हुनुपर्ने बताउँछन् । उनले मृत्यु हुने महिला आफ्नो साथीकी श्रीमती समेत रहेको हुँदा उनलाई कोरोना लागेको कुनै आशंका नभएकोले शव बुझाइएको बताए ।

यसैबीच, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा शनिबार बिहान स्याङ्जा पुतलीबजार–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ ।  पछिल्ला २ केससहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशका २४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, गएको २४ घण्टामा प्रदेशमा थप ८३ जनामा कोराना संक्रमण देखा परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् पुष्टि गरेको छ । प्रदेशमा कुल संक्रमित संख्या २९ सय नाघेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता