लोकतान्त्रिक शासन प्रणालीले आधुनिक विश्वमा अत्यन्त ठूलो प्रख्याति आर्जन गरिरहेको छ । यसलाई एक्लै हिँड्ने स्वभावविपरीत समझदारी, सम्झौता, सहअस्तित्व, सहस्वामित्व, समान व्यवहार र आम सहभागितासमेतको समष्टिगत आदर्श शासन प्राणालीका रूपमा आत्मसात गरिएको छ । लोकतन्त्र फगत शासन प्रणाली नभई जीवनको एक अभिन्न अंगसमेत हो । लोकतन्त्रको सम्बन्धमा सिद्धान्ततः कुनै विकृति र विसंगतिको गुन्जायस रहने हिसाबले यसलाई हेरिँदैन । तर, यसको नकारात्मक पक्ष भनेको साशकद्वारा गरिने लोकतान्त्रिक अभ्यास मात्र हो । लोकतन्त्रको विश्वव्यापी रूपमा समान सिद्धान्त, आदशर्, मूल्य र मान्यता हुने भए तापनि यसको अभ्यास देश र परिस्थितिमा पृथक् पाइन्छ । यसको सस्थागत विकासका लागि जनताको अभिमतवाट शासन गर्ने, नागरिक स्वतन्त्रता र समानतालाई अत्यधिक प्राथमिकतामा राख्नेजस्ता अत्यन्त महŒवपूर्ण विषयमा कुनै सम्झौता गरिनुहुन्न ।
आधुनिक लोकतन्त्र आवधिक निर्वाचन प्रणालीमा मात्र सीमित रहँदैन । यसले बहुमतको सहभागिता र निर्णयका आधारमा शासन गर्ने प्रक्रियालाई आम नागरिकको अर्थपूर्ण र न्यायोचित सहभागिताको प्रत्याभूति गर्न नसक्ने भएकाले र यसले राज्यशक्तिको अत्यधिक केन्द्रीकरण, काम कारबाहीमा शासकको अपारदर्शिता, बहुमतको आवरणमा अल्पमतको शासनमा पक्कड रहने, सबै प्रकारका सार्वजनिक चासोका विषयमा जनताको सहभागिताको प्रत्याभूति हुन नसक्ने, आम नागरिकलाई निर्वाचन प्रक्रियामा सीमित गरिने, राज्यका मूल प्रवाहबाट भेदभावमा रहेका, वञ्चितीकरणमा परेका, सीमान्तकृत वर्ग, जोखिममा रहेकाको उपेक्षा गरिनु, लोकतान्त्रिक अभ्यासबाटै दिन प्रतिदिन धनी र गरिबको बीचको खाडल वा दूरी बढ्दै जानु, राज्यका स्रोतसाधन सीमित परिवारमा मात्र केन्द्रित हुँदै जानु, मानवअधिकारको पालनामा कमी आउँदै जानु, सुशासन कायम गर्नमा लोकतान्त्रिक शासन प्रणाली नै असफल हुनुजस्ता लोकतन्त्र कै नाममा भइराखेका विकृति हुन् । यी साझा आरोप सबै लोकतान्त्रिक देशका लागि हुन् । तर, यसको मात्रा देशअनुसार त्यहाँको शासन प्रणालीले जनताप्रति निर्वाह गरेको जवाफदेहितामा फरक पर्ने गरेको देखिन्छ । त्यसैले, आजको आधुनिक विश्वमा शृंगारिक, आलंकारिक र प्राविधिक लोकतन्त्रभन्दा प्रत्यक्ष, जीवन्त र आम नागरिकले यसको रसास्वादन गर्न पाउने र महसुस गर्न सक्ने लोकतान्त्रिक पद्धतिको पक्षमा सर्वत्र वकालत हुन थालेको छ ।
नागरिक र राजनीतिक अधिकारको प्राप्तिबाट मात्र लोकतन्त्रको भरपूर फाइदा लिन नसकिने भएकाले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण र संवद्र्धनमा लोकतन्त्रले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्दछ भन्ने अपेक्षा सबैतिर भइराखेको छ । नागरिक चेतना, आर्थिक विकास र लोकतान्त्रिक संस्थाको सस्थागत विकासको अभावमा लोकतन्त्रले स्थायित्व प्राप्त गर्न नसक्ने सन्दर्भमा आधुनिक विश्व मतैक्य छ । लोकतन्त्रले मानवअधिकार, सुशासन र समावेशीकरणलाई आत्मसात गर्न सक्नुपर्ने आवश्यकता देखिएको छ । त्यसैले, लोकतन्त्रलाई विभिन्न विद्वान्ले आफ्ना आफ्नै प्रकारले परिभाषा दिने प्रयास गरे तापनि विभिन्न दार्शनिक, चिन्तक एवं राजनेताले यसको परिभाषालाई समय, परिस्थिति र आवस्यकताअनुकूल व्याख्या गर्दै र धारणा बनाउँदै आएका छन् ।
यसको सर्वमान्य र सबै कालखण्डमा स्वीकारयोग्य परिभाषा भनेको यो जनता स्वयंद्वारा सञ्चालन गरिने जनतामा नै केन्द्रित शासन प्रणाली हो, जहाँ जनता नै सार्वभौम हुन्छन् । यो कानुनको शासनलाई आत्मसात गर्ने प्रणाली हो । यसमा व्यक्तिको शासनको कुनै गुन्जायस रहनुहुँदैन । यस अर्थमा लोकतन्त्रवादीले तीनवटा विषयमा विशेष ध्यान दिनुपर्छ । सार्वजनिक सरोकारका विषयमा निर्णय लिँदा आम नागरिकको मतअनुसार बढी प्रभावकारी र समावेशी बनाउने, निर्णय प्रक्रियामा कुलीन एवं उच्च वर्गको एकाधिकार रहन नदिने र लिंग, जात, धर्म, भाषा, वर्गजस्ता कुनै पनि कुराले अधिकारको समान उपयोगमा बाधा पु-याउन नसक्ने अवस्थाको प्रत्याभूति गर्ने ।
हाम्रो लोकतन्त्रको अभ्यासलाई हेर्दा यो राजनीतिज्ञले बोकेको संस्कार, संस्कृति र आचरणसँग धेरै आधारित भएको पाइँदै छ
विश्वभर विभिन्न देशले अपनाएका विविध प्रकारका शासन प्रक्रियामध्ये लोकतन्त्रले नै सबैभन्दा ज्यादा जनताको समर्थन प्राप्त गरिराखेको छ । विश्व जनसंख्याको करिब ८० प्रतिशतले लोकतान्त्रिक शासन प्रणालीको अवलम्बन गरिआएका छन् । गैरलोकतान्त्रिक प्रणाली अवलम्बन गरिआएका देश पनि बिस्तारै लोकतन्त्रप्रति नै आकर्षित भइराखेका छन् । यस्तो अवस्था किन आइराखेको छ ? यसका कारण अन्वेषण गर्दा हामी लोकतन्त्रको उपादेयता नजिक पुग्छौं । लोकतन्त्र नै सबै प्रकारले निर्विकल्प व्यवस्था होइन, अन्य प्रकारका शासन प्रणाली पनि सञ्चालनमा रहेका छन् । यस अर्थमा लोकतन्त्रका गुण मात्र हुने होइनन्, अवगुण पनि हुन्छन् । तर, यसमा यस्ता सुन्दर पक्ष छन्, जसले गर्दा विश्व जनसमुदाय यसको अनुकरण र आत्मसात गर्न लालायित देखिएको छ ।
लोकतन्त्रले दुष्ट, भ्रष्टाचारी र निरंकुश शासकको सरकार बन्न दिँदैन । खराबलाई विस्थापित गर्दै असल सरकारको विकल्पमा यसले सोच पु-याउँछ । यस्तो प्रणालीले मात्र आफ्ना नागरिकलाई विभिन्न प्रकारका मौलिक हक प्रदान गर्दछ । लोकतन्त्रले आफ्ना नागरिकलाई निक्कै व्यापक प्रकारको व्यक्तिगत स्वतन्त्रताको अधिकार प्रदान गर्न सक्छ । जनताका मौलिक हकको संरक्षण गरी लोकतान्त्रिक व्यवस्थाले नागरिकको आत्मनिर्णयको अधिकारलाई निर्बाध रूपमा प्रयोग गर्ने वातावरण बनाउँछ । जनता आफैंले शासन गर्ने अधिकारको स्वतन्त्र उपयोग गर्न सक्दछन् । अन्य व्यवस्थाका तुलानामा मानवीय विकासलाई पूर्ण रूपमा अघि बढाउन सम्भव बनाउँछ । यस प्रकारको प्रणालीमा निर्माण भएको सरकारले उच्चस्तरको राजनीतिक समानतालाई संस्थागत गर्न मद्दत पु¥याउँछ । आपसी सद्भाव, शान्ति र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सफल हुने हुँदा अनावश्यक शीतयुद्धलगायतका द्वन्द्व कम हुन जान्छन् । तसर्थ, यस्ता देशहरू अनावश्यक युद्धको आमन्त्रण गर्दैनन् ।
यस्ता देश अलोकतान्त्रिक देशभन्दा बढी सम्पन्न र विकसित देखिएका छन् । यसले सुखी र समृद्ध देशको रूपमा परिणत हुन सहज बनाउँछ । उत्तर र दक्षिण कोरियाका बीचको सम्पन्नता सुख र समृद्धिको तुलना गर्दा यो चित्र प्रस्ट देख्न सकिन्छ, गैरलोकतान्त्रिक देश भएको कारण उत्तर कोरिया पछि पर्नु र लोकतान्त्रिक मुलुक भएकाले दक्षिण कोरिया अल्पावधिमा ठूलो प्रगति गरी छिमेकी देश जापानसँग प्रतिस्पर्धामा उत्रिनु यसका प्रतिनिधि उदाहरण हुन् । कट्टर साम्यवादबाट उदारतातर्फ उन्मुख भएदेखि छिमेकी चीनले आर्थिक विकासमा छलाङ मारेको छ । यी दुई यसका प्रतिनिधि उदाहरण हुन् । यी सबै गुणहरू लोकतान्त्रिक व्यवस्थामा निरपेक्ष रूपमा प्रम्मानित गर्न सकिँदैन । यसको उपादेयता र महŒवलाई गैरलोकतान्त्रिक देशसँगको सापेक्षतामा हेरिनुपर्दछ । तर, पनि लोकतन्त्रलाई आज विश्वभर निर्विकल्प प्रणालीका रूपमा ग्रहण गर्न थालिएको छ । बहुलवाद जसमा कुनै एक संकीर्ण वा लादिएको विचारवाट माथि उठेर हरेक सम्प्रदाय, विचार र आस्थाका नागरिकलाई महŒव र सम्मान प्रदान गर्दै पूर्ण रूपमा आत्मसात गर्दछ । त्यसैले विश्वका गैरलोकतान्त्रिक देश जसले साम्यवादी, सर्वसत्तावादी, तानाशाही र निरंकुशतन्त्र अवलम्बन गरिआएका सबै देशमा लोकतान्त्रिक शासनप्रणालीको अवलम्बन गर्न जनस्तरबाट दबाब सिर्जना भइराखेको छ ।
नेपालमा लामो समयदेखि शासनसत्तामा रहनेले एकतन्त्रीय शासन प्रणालीलाई समेत प्रजातान्त्रिक शासन प्रणालीको जामा पहि¥याइदिएका थिए । पञ्चायती शासनलाई समेत निर्विकल्प प्रजातान्त्रिक शासन प्रणालीको वकालत गरियो । प्रजातन्त्रको पुनप्र्राप्ति भएपछि पनि सिद्धान्ततः लोकतन्त्रका मूल्य र मान्यतामा आधारित शासन प्रणालीको संचालन गरिए तापनि व्यवहारमा यसको अनुभूति राष्ट्रले गर्न सकेन । दोस्रो जनआन्दोलनको सफलतापश्चात् पनि शासन प्रणाली सिद्धान्तमा मात्र लोकतान्त्रिक, व्यवहार यस प्रतिकूल देखिएको छ । लोकतन्त्रको अभ्यास गर्दै जाँदा सुशासनका सर्वमान्य आधारलाई नजरअन्दाज गर्दै देशको शासन अघि बढिराखेको छ । सर्वत्र राजनीतीकरण मात्र छ ।
व्यावसायीकरणको विकास थोरै मात्र पनि हुन सकेको छैन । भ्रष्टाचारले संस्थागत स्वरूप ग्रहण गरिराखेको छ । यसले गर्दा नेपालको सन्दर्भमा सिद्धान्ततः पूर्ण लोकतान्त्रिक शासन प्रणाली अवलम्बन भइरहँदा पनि व्यवहार ठीकविपरीत देखिएको आलोचना राजनीतिका पण्डितबाट अत्यन्त ज्यादा भइराखेको छ । यस अर्थमा हाम्रो लोकतन्त्रको अभ्यासलाई हेर्दा यो राजनीतिज्ञले बोकेको संस्कार र संस्कृति र आचरणसँग धेरै आधारित भएको पाइँदै छ । तसर्थ, लोकतन्त्र सिद्धान्तमा मात्र भएर नभई तदनुरूप शासकीय व्यवहारमा पनि निखार आउनुपर्दछ भनेर उदाहरण प्रस्तुत गर्नु पर्दा नेपाललाई स्मरण गर्नुपर्ने भएको छ ।