राजविराज । स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञा आज मंगलबार ५२ दिनपछि हटाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सर्तसहित निषेधाज्ञा हटाएलगत्तै बजारमा चहलपहल बढेको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको हिजो सोमबार साँझ बसेको बैठकले जिल्लामा गत साउन ८ गतेदेखि लगाइएको निषेधाज्ञा स्वास्थ्य मापदण्ड तोकी हटाउने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृत एंव सूचना अधिकारी आनन्द ठाकुरका अनुसार पसल, व्यवसायी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानिय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारि भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संचालनमा ल्याउन सक्ने अनुमति प्रदान गरिएको छ । जिल्ला भित्र निजि सवारीसाधन तथा दुई जना यात्रु मात्र राखेर सिटी रिक्सा चलाउन पाउने छ ।
शिक्षण संस्था, हाट बजार, सभा सम्मेलन लगायतका भने संचालन गर्न नपाइने उनले जानकारी दिएका छन् । यस्तै १० वर्ष मूनी र ६० वर्षमाथीका मानिस र दिर्घरोगिलाई बारिह हिडडुल गर्न तथा सैलुन, ब्युटिपार्लर, जिमखाना, मेला, महोत्सव तथा अन्य सामूहिक भेलामा पनि रोक लगाइएको छ ।
यता निषेधाज्ञा हटाइएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको छ । कार्यालयहरुमा सेवाग्राही तथा पसल र हाट बजारमा ग्राहकको भिड लागेको छ । जनजिवन निकै कष्टकर बन्दै गएपछि स्थानिय प्रशासनले सुरक्षा र स्वास्थ्य मापदण्ड तोकेर निषेधाज्ञा हटाएकाले सोको पालना गर्दै नागरिक आफै आफ्नो स्वास्थ्यप्रति संवेदनशील भइदिने हो भने कोरोना महामारीको जोखिमबाट बच्न सकिने स्वास्थ्य विज्ञहरुको भनाइ छ ।