काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
ललित उपचाररत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पाताल पुगी सदस्यसचिव सिलवालले ललितको अवस्थाबारे जानकारी लिएका हुन् । सदस्यसचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसँग भेट गरी ललितको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए । परिवारसँग पनि भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
साथै उनले ललितका परिवारसँग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउँदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भेटका अवसरमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का पनि उपस्थित थिए ।