काठमाडौं । नेपाल भलिबल संघले कोरोना महामारीका कारण समस्यामा परेका राष्ट्रिय खेलाडीलाई राहत वितरण सुरु गरेको छ । संघले कोरोना महामारीपछि झन्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो । संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको हो ।
संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्वय सलिना श्रेष्ठ र उषा भन्डारी तथा बिच भलिबलका राजु विकलाई राहत सहयोग गरेको हो । कोरोना महामारीबाट अन्य सबै क्षेत्रजस्तै खेलकुद क्षेत्र पनि प्रभावित छ । खेलकुद गतिविधि नहँुदा खेलाडी र उनका परिवार समस्यामा पर्न थालेका छन् । सोही अवस्थालाई मध्यनजर राख्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढाएको हो ।
काठमाडौंमै रहेका सलिना र उषालाई मास्क र सेनिटाइजरसँगै चामल, दाल, तेललगायत खाद्यान्न सामग्री तथा गृह जिल्ला बागलुङमा रहेका राजुलाई नगद पठाइएको नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् । दक्षिणकाली नगरपालिका खहरे घर रहेकी सलिना र टोखा नगरपालिका नयाँ बसपार्क बस्दै आएकी उषालाई संघकी राहत समितिका संयोजकसमेत रहेकी मास्के र सचिव तथा समितिका सहसंयोजक मनवीर छन्त्यालले खेलाडीको घर पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए ।
आवश्यकता हेरेर भविष्यमा अन्य खेलाडीलाई पनि संघले सहयोग गर्ने विषयमा पहल गर्ने उपाध्यक्ष मास्केले बताइन् । ‘राष्ट्रिय टोलीका खेलाडीको आर्थिक अवस्था र कठिनाई बुझेर खेलाडीलाई सहयोग गर्नुपर्छ भन्ने संघले ठान्यो,’ संयोजक मास्केले भनिन्, ‘हाम्रा कतिपय खेलाडी विभागमा हुनुहुन्छ । केही खेलाडी विभाग बाहिर पनि हुनुहुन्छ । त्यसमध्ये पनि एकदमै कठिनाइ परेका खेलाडीलाई पहिलो चरणमा सहयोग गरेका हौं ।
अवस्थाअनुसार अन्य खेलाडीलाई पनि सहयोग गर्ने विषयमा हामी संघमा छलफल गर्नेछौं ।’ कोरोना महामारीबाट अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि प्रभावित छ । खेलकुद गतिविधि नहुँदा खेलाडी र उनका परिवार समस्यामा पर्न थालेका छन् ।
सोही अवस्थालाई मध्यनजर राख्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढाएको बताइएको छ । संघले यस्तो कठिनाइका समयमा सम्झेकोमा सलिनाले धन्यवाद दिइन् । ‘मैले त यस्तो सहयोग हुन्छ भन्ने आशा गरेको थिइनँ,’ उनले भनिन्, ‘हाम्रो बारेमा चासो लिएर घर सम्म आएर सहयोग गर्नुभएकोमा संघ परिवार परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।’
महिला टोलीले गत वर्ष दुई ठूला सफलता प्राप्त गर्दा सलिना त्यसको महŒवपूर्ण सदस्य थिइन् । लिबेरो सलिना सम्मिलित टोलीले कात्तिकमा बंगलादेशमा एभीसी सेन्ट्रल जोनमा स्वर्ण र मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको थियो । उषा १३औं सागमा रजत जित्दा टोलीमा थिइन् । राजुले १३औं सागमा बिच भलिबलमा देशको प्रतिनिधित्व गरेका थिए ।