काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यो यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।
सरकारले आगामी दशैँ–तिहारसम्म रेल सञ्चालनको योजना बनाएको छ । नेपाल आइपुगेपछि सबै परीक्षण गरी रेल सञ्चालनमा ल्याइनेछ । रेल पूर्णरुपमा सञ्चालन गर्नुभन्दा पहिले भारतीय निर्माण कम्पनीलाई बोलाएर एक पटक अन्तिम जाँच गराइने महानिर्देशक मिश्रको भनाई छ ।
भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट निर्माण भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरीद भएको हो । सो सेटमा एउटामा पाँच डिब्बा रहनेछ । दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् ।






