जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशनलाई मिथिला चित्रकलाले सजाइएको छ । रेलबाट यात्रु झर्ने बित्तिकै पौराणिक मिथिलाको झझल्को भेटियोस् भन्दै लक्ष्मी रायको टोली दिनरात लगाएर रेलवे स्टेशनको भित्ताहरुमा मिथिला चित्रकला बनाउन व्यस्त छन् ।
मिथिला चित्रकला बनाइएपछि अहिले जनकपुर रेल्वे स्टेशन सेल्फी प्वाइन्ट बनेको छ । मिथिला पेन्टिङको रुप दिएपछि एकदमै आकर्षक देख्न थालिएको प्रदेश सांसद रामअशिष यादवले वताए । बाहिरबाट आएकाहरुलाई रेल्वे स्टेशन देखाउन आउनैपर्छ यसक्रममा कतिले मिथिला पेन्टिंङलाई पृष्ठभूमि राखेर फोटो खिचाउने गरेको रेल्वेका कर्मचारीहरु वताउँछन । सांसद यादव आफैले पनि सो स्थानमा गएर सेल्फी खिचाएका छन् ।
रेल पहिलो पटक शुक्रवार जनकपुरधाम आउँदा निकै संख्यामा स्थानीयवासी त्यहाँ पुगेका थिए । धेरैले मिथिला चित्रकलाको पर्खाललाई आकर्षक माने । सेल्फी खिच्नेको भिड लाग्यो ।
भारत विहारको मधुबनी घर भएकी ४२ वर्षीया लक्ष्मीलाई जनकपुर रेलवे स्टेशनका भित्ताहरुमा मिथिला पेन्टिङ कोरेर सजाउने जिम्मा भारतीय अधिकारीहरुले नै दिएका थिए ।
भवनसहित अन्य निर्माण कार्य भारतले गर्नु पर्ने सम्झौता रहेकोले जनकपुर रेल्वे स्टेशनको भित्ताहरुमा मिथिला चित्रकला कोर्ने जिम्मा भारत मधुबनी बस्ने लक्ष्मीलाई दिइएको थियो । जनकपुर नजिकै रहेको भारतको मधुबनी रेलवे स्टेशनलाई पनि मिथिला चित्रकलाले यसैगरी सजाइएको छ । केही वर्ष अघि मधुवन्नी स्टेशन भारतकै फोहर स्टेशन थियो । तर, अहिले सो स्टेशन मिथिला चित्रकलाका कारण आकर्षक बनेको छ ।
भारतले निर्माण गरेको र लक्ष्मी पनि भारतीय नागरिक रहेकै कारण मात्रै जनकपुर रेलवे स्टेशनमा मिथिला चित्रकला कोर्ने जिम्मा पाएकी होइनन् । मिथिला चित्रकला क्षेत्रमा ठुलै ख्याती कमाउन सफल भएकी छिन् उनी । ‘मिथिला पेन्टिङ’ प्रतिको लगन, मिहिनेत र संघर्षले १५ वर्ष अगाडी पटना रेलवे स्टेशनमा पहिलो पटक मिथिला चित्रकला कार्ने अवसर जुड्यो, लक्ष्मीलाई । पटना रेलवे स्टेशनमा पहिलो पटक कोरेको उनको कलाले चर्चा पाएपछि ‘मिथिला पेन्टिङ’ लाई पेशा बनाउन लक्ष्मीलाई हौस्यायो । र, अहिले यस क्षेत्रका चर्चित नाम बनेकी छिन् ।
कडा संघर्ष र मिहिनेतपछि लक्ष्मीको मिथिला चित्रकलाले चारैतर्फ चर्चा पाएपछि भारत सरकारले उनलाई सन २०१२ मा सम्मानित समेत गरिसकेको छ । भारत सरकारको तर्फबाट पुरस्कृत भइसकेपछि ‘मिथिला पेन्टिङ’ प्रति थप झुकाव बढ्यो, उनको ।
मधुबनी र पटनाको रेलवे स्टेशन झैँ जनकपुरको रेलवे स्टेशन पनि मिथिला चित्रकलाले सजाउने रहर थियो, लक्ष्मीको । र, यही रहरका साथ उनी रेलवे स्टेशनको भित्ताहरुमा मिथिला चित्रकला कोरेका छन । आफूले कोरेको चित्र हेर्नासाथ मिथिला आई पुगेको अनुभूति यात्रीलाई होस उनको चाहना छ । तर जसले जे बनाएपनि एकदमै आकर्षक लाग्ने गरेको उनले बताए ।