दसैं–तिहार अग्रिम टिकट बुकिङ अन्योलमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष दसैं–तिहारमा खोलिने अग्रिम टिकट बुकिङ नै अन्योलमा परेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञालगायत कदमका कारण दसैं–तिहार सुरु हुन अब महिना दिन मात्रै बाँकी हुँदा पनि यातायात क्षेत्रमा रौनक आउन सकेको छैन ।

सरकारले २०७६ चैतदेखि लामो दुरीका यातायात सञ्चालन गर्न रोक लगाउँदै आएकामा १ असोजदेखि सञ्चालन गर्न अनुमति दिएको छ । लामो दुरीका यातायात सञ्चालनमा आए पनि नियमअनुसार सिट भरिने गरी यात्रुको अभाव रहेको व्यवसायीहरू बताउँछन् ।

अहिले लामो दुरीमा यात्रा गर्ने यात्रुको अभाव देखिएपछि व्यवसायीले दसैंमा पनि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु कमै हुने भएकाले अग्रिम टिकट बुकिङ खुलाउन नपर्ने तर्क गरेका छन् ।

कोरोना सर्ने डर र कतिपय ठाउँमा क्वारेन्टिनमा समेत बस्नुपर्ने नियमका कारण पनि यस वर्ष अघिल्ला वर्षको जस्तो चहलपहल नहुने

यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बाहिर जाने यात्रु नै नभएको भन्दै अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नरहेको बताए । उनले एक साता यात्रुको अवस्था हेर्ने र त्यसपछि निर्णय गर्ने बताए ।

‘काठमाडौं उपत्यकाबाट बाहिरिने मान्छे नै छैनन्, यस्तै हो भने खुलाउनै पर्दैन, अब एक हप्ता हेरेर निर्णय गर्छौं,’ उनले राजधानीसँग भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागका महानिर्देशक गोगन हमालले उपत्यका बाहिर जाने मान्छे कम भए पनि अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने बताए । हमालले चाडबाडको समयमा यातायात प्रणालीलाई व्यवस्थित गर्न पनि बुकिङ खुलाउनुपर्ने जनाएका छन् ।

‘उपत्यका बाहिर जाने मान्छे भए पनि नभए पनि व्यवस्थित साथ काम गर्नुपर्छ त्यसैले अग्रिम टिकट बुकिङ त खुलाउनैपर्छ,’ उनले राजधानीसँग भने ।

महानिर्देशक हमालले भर्खरै मात्र यातायात सञ्चालनमा आएको भन्दै अब केही दिनमै सबै पक्षलाई बोलाएर अग्रिम टिकट बुकिङका विषयमा छलफल थाल्ने बताए । उनले अनलाइन बुकिङको विषयमा पनि छलफल भइरहेको भन्दै त्यसो भएमा यात्रुलाई झनै सहज हुने जनाए ।

अघिल्ला वर्षमा दसैं–तिहारको अवसरमा १५ देखि २० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेको व्यवसायीहरू बताउँछन् । सरकारले चैतमा लकडाउन घोषणा गरेकाले लकडाउन अगाडि र लकडाउनकै अवधिमा गरी करिब ७ लाख मानिस बाहिरिएको अनुमान गरिएको छ । कोरोना सर्ने डर र कतिपय ठाउँमा क्वारेन्टिनमा समेत बस्नुपर्ने नियमका कारण पनि यस वर्ष अघिल्ला वर्षको जस्तो चहलपहल नहुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)