काठमाडौं । मुलुकमा कोरोना संक्रमणका कारण टेलिभिजनबाट प्रसारण भइरहेका थुप्रै रियारिटी सो, संगीतिक कार्यक्रम तथा टेली शृंखला बन्द भएका छन् । यसैबीच लोकदोहोरी सांगीतिक कार्यक्रम ‘जुनकिरी दोहोरी’ भने टेलिभिजनबाट प्रसारण सुरु भएको छ ।
थुप्रै टेलिभिजनले लोक दोहोरी सांगीतिक कार्यक्रम बन्द गरिरहेको बेला गायिका धनकुमारी थापा ‘सरु’ले यो बृहत् दोहोरी कार्यक्रम सुरु गरेकी हुन् । यसअघि काठमाडौंमा राष्ट्रव्यापी लोकदोहोरी प्रतियोगिता गर्दै आएकी उनले अहिले जुनकिरी दोहोरी एपीवान टिभीबाट सुरु गरेकी छन् । यो प्रतिस्पर्धामूलक दोहोरी गायन कार्यक्रम यसै महिनाबाट हरेक शुक्रबार साँझ ६ देखि ७ बजेसम्म प्रसारण हुने गरेको सरुले बताइन् ।
यो साताका लागि सांसद मीनबहादुर विश्वकर्मा र गायिका सरिता भारती अतिथि रहेको जुनकिरी दोहोरीमा हरेक साता नयाँ नयाँ कलाकारबीच प्रतिस्पर्धा हुने गरेको छ । शिवरामले निर्देशन गर्ने यो कार्यक्रमलाई अशोक धिताल र सरुले सञ्चालन गर्दै आएका छन् । मौलिक लोक गायनलाई जोगाउँदै हरेक साता विविध सामाजिक समस्या, राष्ट्रियता, एकतासहित विभिन्न सन्देशमाथि दोहोरी गीत यो कार्यक्रममा प्रस्तुत हुने सरुले बताएकी छन् ।