काठमाडौं । प्रतिदिन तीव्र रूपमा कोरोना संक्रमित थपिरहेकै अवस्थामा बसको सिट भरी यात्रु राख्ने तयारी थालिएको छ । यातायात व्यवसायीको चर्को दबाबपछि सिटभरी यात्रु राख्ने तयारी गरिएको हो । यातायात व्यवस्था विभागले गाडीको सबै सिटमा यात्रु राख्न अनुमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रसमेत पठाएको छ ।
यसअघि, मन्त्रिपरिषद्ले सार्वजनिक सवारी साधन सञ्चालनका लागि सिट क्षमताको आधामात्र यात्रु राख्न दिनेगरी निर्णय गरेको थियो । विभागले भने सिटभरी यात्रु राख्ने निर्णय गर्न मन्त्रालयमा पत्राचार गरेको हो ।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दोब्बर भाडा लिन पाउने तर यात्रु भने आधामात्र बोक्न पाउने निर्णय गरे पनि व्यवसायीले भने सिटभरी यात्रु बोक्न पाउनुपर्ने माग गर्दै दबाब दिइरहेका छन् ।
निरन्तर दबाबकै कारण विभागले माग सम्बोधन गर्नका लागि मन्त्रालयमा पत्राचार गरेको हो ।
स्वास्थ्य क्षेत्रका विज्ञले भने अहिलेको अवस्थामा सामाजिक दूरी कायम गर्न जरुरी रहेकाले सिटभरी यात्रु राख्नु जोखिम हुने जनाएका छन् । उनीहरूले भाडा दोब्बर लिन पाउने निर्णय भएकाले व्यवसायीलाई कुनै घाटा नभएको तर्कसमेत गरेका छन् ।
यातायात व्यवसायीले भने अहिलेको मापदण्डअनुसार गाडी चलाउन नसकिने जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आधा सिटमात्रै यात्रु राखेर गाडी सञ्चालन गर्नु नै अव्यवहारिक भएको बताए ।
व्यवसायीले ‘विमानका पूरै सिटमा यात्रु राख्न पाइन्छ भने गाडीमा पनि राख्न पाउनुपर्ने’ माग गरेका छन् । उनीहरूले यात्रुमा अहिले स्वास्थ्यप्रति सचेतना बढेकाले सबै सिटमा राख्दा फरक नपर्ने तर्कसमेत गरेका छन् ।
यसअघि, हवाई र बस दुवैमा सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने मापदण्ड तोकिएको थियो । जहाजवालाले सो मापदण्डअनुसार सञ्चालन नगर्ने अडानपछि सरकारले सिटभरी यात्रु राख्न दिने निर्णय गरेको थियो ।
सरकारले बसमा भने आधामात्र यात्रु राख्न पाउने नियम लगाउँदै आएको छ ।