कार्यसम्पादन गुणस्तर बढाउने तत्वहरू

अन्य प्राणीभन्दा मानव विवेकशील प्राणी हो तथापि उसको सामाजिक र व्यवस्थापकीय कार्यसम्पादनमा उत्प्रेरणाको अहं भूमिका रहन्छ । घरायसी कार्य होस् वा सामाजिक तथा औपचारिक संस्थाद्वारा सेवाग्राहीलाई सन्तुष्टि दिलाउने कार्य नै किन नहोस् सबै क्षेत्रको कार्य सम्पादन गुणस्तर बढाउन उत्प्रेरणा आवश्यक पर्दछ ।

उत्प्रेरणाले मानिसको केही गरौं भन्ने भावनाको विकास गरेर मानवीय पक्षलाई परिलक्षित गर्दछ । योग्यताको आधारमा उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा पदस्थापन, समान कामका लागि समान ज्याला र सम्पादित कामको वस्तुगत मूल्यांकनद्वारा उपलब्ध हुने ढाडसलाई पनि उत्प्रेरणा बढाउने साधन मान्न सकिन्छ ।

विश्वव्यापी फैलिएको अदृश्य कोरोना भाइरस कोभिड–१९ बाट नेपालमा ७९ हजारभन्दा बढी संक्रमित भएका मध्ये २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित भएका छन् भने २०७७ असोज १५ गतेसम्म ५ सय ९ जनाको दुःखद निधन भएको छ । कोभिड–१९ बाट सिर्जित चुनौतीहरूको व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका सभासदहरूले संक्रमण न्यूनीकरण तथा रोकथामको गर्न टेस्टिङ, ट्रेसिङ र ट्रिटमेन्टलाई अझै व्यापक बनाउन सरकारलाई साझा सुझाव दिई कार्य सम्पादन व्यवस्थित गरी लकडाउन, सटडाउन र भदौ १० गतेदेखि घोषित निषेधाज्ञाको समयमा गुणस्तरीय ढंगले व्यवस्थापन गर्न नसकेको गुनासो गर्दै आआफ्नो सरकारको आव २०७७/७८ को वार्षिक योजनाद्वारा विनियोजित बजेट रकमबाट कोभिड–१९ आइसोलेसन कक्ष बनाउन दलीय परिधिभन्दा माथि उठेर सुझाव पेस गर्दै सरकारको कोभिड–१९ को व्यवस्थापन कार्यमा उत्प्रेरणा बढाएका छन् भने नीति निर्माताको सुझाव कार्यान्वयन गर्न सके जनप्रतिनिधि र सरकारप्रति नागरिकहरूमा भरोसा बढ्ने अपेक्षा गर्न सकिन्छ ।

कोरोनाबाट सिर्जना भएका चुनौतीलाई सुझबुझका साथ भर्चुअल प्रविधि र स्मार्ट सेवाजस्ता नवीन अवधारणाको प्रयोगलाई अवसरमा रूपान्तरण गर्नु आजको आवश्यकता हो

कोभिड–१९ बाट संक्रमितहरूको उपचारसमेतको व्यवस्थापनमा खटिएका डक्टर, नर्ससमेतका स्वस्थ्यकर्मी, सुरक्षा निकायका फ्रन्ट डेस्कमा खटिने पदाधिकारीसमेतलाई उनीहरूको उत्प्रेरणा बढाउन सरकारबाट दिने भनेको थप इन्सेन्टिभ उपलब्ध नगराएको हुँदा नोबल शिक्षण अस्पताल विराटनगरका नर्स र अन्य स्वास्थ्यकर्मीसमेतले सामूहिक राजीनामाद्वारा सरकारको कथनी र करनीबीच तादात्म्यता मिल्न सकेन जसको परिणामस्वरूप गुणस्तरयीय सेवाप्रवाहमा कमी आउन सक्ने सम्भावना बढेको छ ।

कोभिड–१९ को संक्रमण समाजका धनी, गरिब, सिनियर, जुनियर, महिला र पुरुषलाई रोगको सिम्टम देखिएर होस् वा नदेखिएर जुनसुकै समयमा पनि हुन सक्ने सम्भावना उत्तिकै रहन्छ । संक्रमण दर दिन प्रतिदिन उच्च हँुदै गएको छ । उपचारमा संलग्न केही स्वास्थ्यकर्मी संक्रमित भई चिकित्सकले समेत ज्यान गुमाउनुपरेको छ । संक्रमितहरूको स्वास्थ्य सेवामा खटिएका राष्ट्रसेवकहरू देशका विभिन्न नगर, गाउँ तथा टोलटोलमा सामाजिक दुव्र्यवहारमा परेका छन्, आगामी दिनमा त्यही समुदायका मानिसमा कोरोनाको संक्रमण फैलियो भने उनै सार्वजनिक सेवाप्रवाहमा खटिएका स्वास्थ्यकर्मीबाटै उपचार गर्नुपर्ने सम्भवना भएकाले सामाजिक सद्भाव बढाई दुव्र्यवहार नभई सद्भावको प्रोत्साहनबाट कामको गुणस्तर बढाई उत्प्रेरणा जगाउन सक्नु आवश्यक छ ।

नेपालमा समाजशास्त्र तथा मानवशास्त्रको विकास तथा विस्तारमा डोरबहादुर विष्टको अग्रणी भूमिका रहेको छ । उहाँले नेपालमा रहेका १२३ जातजातिलाई एउटै मालामा उनेर सबै जातको फूलबारी नामक कृति (२०३०) मार्फत सामाजिक सद्भाव रहेको जानकारी दिनुभएको छ । अहिलेको बहुल पेसाकर्मीसहितको नागरिक समाजमा डाक्टर, नर्स स्वास्थ्यकर्मीसमेतका प्राविधिक र अप्राविधिक कर्मचारी, बंैकर्स, न्यायालय, सुरक्षाकर्मीलगायतका कर्मचारी, नागरिक समाजसमेतको साझा फूलबारी निर्माण गरी लक्ष्मीप्रसाद देवकोटाको यात्री कवितामा ‘…मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ’मार्फत प्रवाह भएको सन्देशअनुसार हालको विषम परिस्थितिको व्यवस्थापन गर्न एकआपसमा सहयोग र सद्भाव बढाउँदै एकअर्काप्रति प्रोत्साहन गरी गुणस्तरीय सेवा बढोत्तरी गरेर हाम्रो सामु रहेका जटिल अवस्थालाई सहज तुल्याउन अहिलेका स्वास्थ्यकर्मी भोलि नागरिक समाजमा आई घुलमिल हुने र नागरिक समाजका मानिस बिरामी हुँदा कोमल हृदयबाट उपचार गरी मद्दत गरेर भरोसायोग्य वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो ।

व्यक्तिको उत्प्रेरणा बढाई कार्यसम्पादनलाई गुणस्तरीय बनाउन अब्राहम मास्लोको पाँच तहको आवश्यकताको तहगत सिद्धान्तबमोजिम मानिस आधारभूत तहको एउटा आवश्यकता पूरा हुनेबित्तिकै अर्को आवश्यकता पूर्ति गर्न अग्रसर हुन्छ, अन्त्यमा आत्म तृप्तिको अवस्थामा सिर्जनात्मक काम गरेर गौरव गर्दछ तापनि तेस्रो तहको सामाजिक आवश्यकतासँग अहिलेको कोभिड–१९ संक्रमणको व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीप्रति समाजले गरेको व्यवहार स्वास्थ्यकर्मी पनि बाहिरी दुनियाँको मानव नभई समाजकै आमाबुबा, दाजुभाइ, दिदीबहिनी भएकाले उनीहरूलाई उत्प्रेरित गरेर गुणस्तरीय सेवा प्राप्त गर्ने अवसर रोज्नु आवश्यक छ ।

व्यक्तिको आवश्यकता र रुचिअनुसारका उत्प्रेरक तत्व उपलब्ध गराई गुणस्तरीय सेवा वृद्धि गर्न संगठन तथा व्यवस्थापनले विभिन्न साधन प्रयोगमा ल्याउने विश्वव्यापी प्रचलनलाई नेपालले पनि सार्वजनिक, निजी र साझेदारी प्रशासनमा अवलम्बन गर्दै आएको र निजामती सेवा ऐन, नियमावली र कानुनले समेत देहायका उत्प्रेरक तत्वको व्यवस्था गरी गुणस्तरीय सेवा बढाउने अपेक्षा राखेको छ ।

मौद्रिक तत्व : सबै आवश्यकता पूर्ति हुन सक्ने भएकाले व्यक्ति उत्प्रेरित भई गुणस्तरीय सेवा उपलब्ध हुन सक्दछ भन्ने मोटो मान्यता रहन्छ । यसमा तलब, भत्ता, उपदान, निवृत्तिभरण, तलब वृद्धि, ग्रेड थप, नगद पुरस्कार, पोसाक भत्ता औषधि उपचार आदि पर्दछन् ।

गैरमौद्रिक तत्व : अर्थबाहेक व्यक्तिका विविध हवी पूरा भएमा उसको सेवाप्रवाहमा गुणस्तर बढ्ने विश्वास गरिन्छ । यसमा पद, बढुवा, नेतृत्व, कार्य अनुकूल वातावरण, सम्मान तथा प्रशंसा, खोज र अनुसन्धानको जिम्मेवारी, अवाास सुविधा, अध्ययन भ्रमण, शैक्षिक सुविधा, बिदा, सुस्पष्ट कर्तव्य र दायित्व निर्धारण र सुरक्षित तथा पारदर्शी ऐनकानुन निर्माण गरेर संघ, प्रदेश र स्थानीय तहमा सफल प्रयोग आजको आवश्यकता भएको छ ।

यसैगरी, विभिन्न विद्वान्हरूले प्रतिपादित प्रेरणाका मुख्यमुख्य सिद्धान्त जसबाट सार्वजनिक र निजी प्रशासनमा प्रयोग गरेर उत्प्रेरणा जगाई कार्यसम्पादनलाई गुणस्तरीय बनाउन सकिने अपेक्षा गर्न सकिन्छ ।

(क) मास्लोको आवश्यकता प्राथमिकताको सिद्धान्तले पाँच तहका आवश्यकता पूरा गरेर सेवामा गुणस्तर बढाउन सकिने विश्वास ।

शारीरिक आवश्यकता : व्यक्तिका आधारभूत वस्तु गाँस, बास र कपास ।

सुरक्षा आवश्यकता : सेवाको सुरक्षा र भौतिक खतराबाट बच्ने ।

सामाजिक आवश्यकता : समाजमा मेलमिलापमा रहने र प्रेमपूर्वक बस्ने ।

आत्मसम्मान आवश्यकता : उच्च तहमा पुगेपछिको आत्मा सम्मान र इज्जत ।

आत्मतृप्ति आवश्यकता  : आफ्नो विकास र सिर्जनात्मक कार्यमा गौरव गर्ने ।

(ख) हजबर्गको प्रेरणा स्वास्थ्य सिद्धान्त

स्वास्थ्य तत्व : सुपरिवेक्षण, सेवा सुरक्षा र काम गर्ने वातावरण ।

प्रेरक तत्व : उपलब्धि, मान्यता, पदोनन्ति र उत्तरदायित्व ।

एक्स थ्यौरी : मानिस आफंै काम गर्ने नभई अरू कसैबाट निर्देशित हुन्छ र उसको निर्देशनअनुसार काम सम्पादन गर्दछ भन्ने मान्यता रहन्छ ।

वाई थ्यौरी : यसमा मानिस सफलताका लागि काम गर्न रुचाउने, सज्जन र विवेकी हुन्छ, स्वनिर्देशित हुन्छ, परिश्रमी र कामको उत्तरदायित्व वहन गर्न सक्ने हुन्छ भन्ने मान्यता रहन्छ ।

माथि उल्लिखित व्यावहारिक प्रयोग र विद्वान्हरूले प्रतिपादन गरेका सिद्धान्तअनुसार सेवाप्रदायकहरूको उत्प्रेरणा बढाई सेवाग्राहीको कार्यसम्पादनमा गुणस्तर कायम गर्नुका साथै मानवीय स्रोतसाधनबाट मानवीय समस्याहरूको व्यवस्थापन गर्न आपसी सद्भाव, सहयोग, समझदारी तथा भावनात्मक सम्बन्ध सुदृढ गरेर कोरोनाबाट सिर्जना भएका चुनौतीलाई सुझबुझका साथ भर्चुअल प्रविधि र स्मार्ट सेवाजस्ता नवीन अवधारणाको प्रयोगलाई अवसरमा रूपान्तरण गर्नु आजको आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 671 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव