भोजपुर । प्रदेश १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकामनजिकै रहेको कोदारमा सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख रुपैयाँ लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण सुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।
मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले लकडाउनमा चार महिना हामीले काम गर्न नपाए पनि त्यसपछि हामीले तीव्र गतिमा काम भइरहेको र सरकारले समयमा बजेट पठाउन सक्यो भने चालू आर्थिक वर्षको असार महिना सम्म निर्माण पूरा गर्ने बताएका छन् । हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत स्टक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउनेलगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
२३ रोपनी क्षेत्रमा निर्माण भइरहेको रंगशालामा ५ हजार मानिस अट्न सक्नेगरी सातवटा प्याराफिट निर्माण हुने कार्यालयले जनाएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले निर्माण स्थलमा भइरहेको काम हेर्दा तीव्र गति र गुणस्तरीय ढंगबाट भइरहेको बताएका छन् ।
अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उनले बताए । कोभिडको कारण निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको समेत जानकारी दिए ।
‘उहाँले काम निरन्तर गरिरहनु भएको छ, कोभिडको कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनौं तर पनि उहाँले काम निरन्तर गरिरहनु भएको छ । यो खुसीको कुरा हो । हामी पनि समय अगाडि नै सक्नको लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौं,’ प्रमुख आचर्यले भने । कामलाई गुणस्तरिय बनाउनका लागि इन्जिनियरहरूले नियमित रूपमा अनुगमन तथा चेक जाँचसमेत गर्दै आएका छन् ।
निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रजनिस कुमार झाले बताए । उनले भने, ‘हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौं । निर्माण कार्य गुणस्तरिय तवरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ । कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।’