‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्न गिरोह नै सक्रिय

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मितिसहित पुनः लेभलिङ गरी बेच्न ठूलो गिरोह नै सक्रिय भएको पाइएको छ । प्रहरीले काठमाडौंमा मंगलबारसम्म त्यस्ता गिरोहबाट सञ्चालित चार ठूला गोदाममा छापा मारी बजारमा बेच्न लैजाने तयारी अवस्थामा राखिएका २०७ प्रकारका अखाद्य सामग्री सिल गरेको हो ।

‘हेर्दा डिस्टिब्युटर्स र सञ्चालकहरू फरक फरक छन् तर काम उही छ, थप अनुसन्धान गर्दै छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले म्याद गुज्रिएका अखाद्य सामान बजारबाट उठाउने र नयाँ लेभलिङ गरेर फेरि बजारमा पठाउन ठूलो गिरोह नै लागेको हुन सक्ने बताए ।

‘सप्लायर्सहरू फरक फरक देखिएका छन् तर कनेक्सन कहाँ छ भनेर खोज्दै छौं,’ महाशाखा प्रमुख थापाले भने । प्रहरीले आफ्नो तर्फको अनुसन्धान जारी राखेरै म्याद सकिएका सामान बिक्री गर्ने कम्पनी तथा डिस्टिब्युटर्सहरूको फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको जनाएको छ ।

– सिल गरिएका सामग्री नष्ट गर्न अझै अलमल
– माथिसम्मकै जालो खोज्दै प्रहरी
– अखाद्य सामग्री छ्यापछ्याप्ती
– सिल वस्तु तत्काल नष्ट गर्न माग

प्रहरीले गत बिहीबारयता राजधानीका कलंकी, बाफल र महाराजगन्जका चार ठूला स्टोरमा विशेष सूचनापछि छापा मारेको थियो । यस्तै, वीरगन्जमा पनि म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ लेभलिङ गरिएको पाइएको छ । प्रहरीले वीरगन्जमा समेत नयाँ लेभलिङ गरी बजारमा लैजाने तयारी अवस्थामा गोदाममा राखिएका डेट एक्सपायर खाद्य सामग्री सिल गरेको छ ।

प्रहरीले मंगलबार मात्रै राजधानीको महाराजगन्ज क्षेत्रबाट म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ लेभलिङ गरिएका ३ करोड मूल्य बराबरको खाद्य सामग्री नियन्त्रणमा लिएको हो । महाराजगन्जको जोडियाक गोदाममा प्रहरीले छापा हान्दा बिस्कुटसहित तेल, डाइपर टिस्यु पेपरलगायत ३ करोड बराबरको म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको जनाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार सो गोदामबाट सञ्चालक जितेन्द्रकुमार लोइयासहित लेखापाल मुकेश रौनियार र कर्मचारी अनिल मगर पक्राउ परेका छन् ।

प्रहरीले गत बिहीबार कलंकी र बाफल क्षेत्रका दुई गोदाममा छापा हान्दा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री फेला पारेको थियो ।

अपराध महाशाखाको अगुवाइमा भएको सो अप्रेसनका क्रममा कलंकीस्थित आयन डिस्टिब्युटर्स प्रालिबाट रिलेभलिङ गर्ने एउटा मेसिन र बाफलस्थित अमजोन डिस्टिब्युटर्स प्रालिबाट म्याद गुज्रिएका ओरियो बिस्कुट, स्निकर्स चकलेट, बर्न भिटा, प्रिंगल्सलगायतका खाद्य सामग्री राखिएको गोदाम सिल गरिएको थियो ।

सो क्रममा बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्री पुनः नयाँ म्याद राखिएको अवस्थामा फेला परेको थियो ।

यस्तै, गत आइतबार मात्रै कलंकीको एएसटी प्रालिको गोदामबाट समेत करिब ४ करोड मूल्य बराबरका १ सय ४१ प्रकारका सामग्रीको पहिचान भएको थियो । सो गोदाममा तेल, चेरी, पिठो जस्ता बेकरी सामानमा नयाँ लेभलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको थियो ।

प्रहरीले सो कार्यमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत समस्तीपुर, विहारका ५२ वर्षीय अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा छन् । अवस्थी लेखापाल, श्रेष्ठ म्यानेजर र ओझा स्टोर किपर छन् ।

पक्राउ परेका बंकासहित हाल फरार प्रविन बंका र किरणदेवी अग्रवाल गरी तीन जनाको नाममा गोदाम छ । फरार अन्य सञ्चालकको भने प्रहरीले खोजी गरिरहेको छ ।

गत बिहीबार भने सो कार्यमा संलग्न आठ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा झापा चन्द्रगढी घर भई पुतलीसडक न्युप्लाजा बस्ने पुष्पादेवी अग्रवाल, भारत राजस्थान विकानेर श्रीडुंगरगढ घर भई बाफल बस्ने रोनक बोथ्रा, रौतहट गौर घर भई बल्खु बस्ने मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरी भग्राम घर भई श्यामप्रसाद सिंह, धादिङ गल्छी घर भई कुलेश्वर बस्ने रामबहादुर बयलकोटी, धादिङ नीलकण्ठ घर भई कंलकी बस्ने सीताराम उपरकोटी र धादिङ सिद्धलेख घर भई बाफल बस्ने दिलिप थापा मगर छन् ।

गत बिहीबार र आइतबार कलंकी र बाफलबाट पक्राउ परेका १५ जनामध्ये ८ जनालाई थप अनुसन्धानका लागि हिरासतमा र अन्य ६ जना कामदारलाई सामान्य तारेखमा एक जना सञ्चालकलाई १ करोड धरौटीमा छोडिएको छ ।

तर, सिल गरिएका सामान नष्ट गर्न भने अलमल हुँदै आइरहेको छ । खाद्यसँग सम्बन्धित सरकारी पक्ष वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा प्रहरीबीच तालमेल नमिलेपछि सिल गरिएका सामान नष्ट गर्न अलमल हुँदै आइरहेको हो । उपभोक्ता संरक्षणकर्मीले भने सिल गरिएका सामानलाई तत्काल नष्ट गर्न दबाब दिँदै आइरहेका छन् ।

उपभोक्ता संरक्षणकर्मी माधव तिमल्सिनाले स्थानीय प्रशासन, प्रहरीसहित वाणिज्य विभागसहितका सरकारी निकायबीच आवश्यक समन्वय गरेर तत्कालै जनस्वास्थ्यमा खेलबाड गर्ने व्यक्ति र गिरोहलाई कानुनी दायरामा ल्याइनुपर्ने बताए ।

‘मानव स्वास्थ्यमा खेलबाड गर्ने व्यक्ति र गिरोहको पहिचान हुनुपर्छ, सबै सरकारी निकायबीचको समन्वयबाट सिल गरिएका सामान तत्काल नष्ट गरियोस्, उपभोक्ता स्वास्थ्यका सवालमा कुनै निकाय पन्छिन मिल्दैन,’ उपभोक्ता संरक्षणकर्मी तिमल्सिनाले राजधानीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो