संसदीय विकास कोषको रकम दुरुपयोगको नयाँ काइदा

जनकपुरधाम । प्रदेश २ का सांसदहरु संसदीय विकास कोषको रकम कसरी दुरुपयोग गरिरहेका छन् त्यसको उदाहरण जनकपुरधाममा देख्न सकिन्छ । जनता समाजवादी पार्टीका सांसद परमेश्वर साहले खेतमा पिसीसी ढलान सडक बनाएका छन् । सो ढलानका लागि ८० लाख रुपैयाँ सांसद साहले खर्च गरेका छन् । जग्गा दलालहरुको खेतको मूल्यांकन बढाउन संसदले यस्तो सडक बनाएको स्थानीयवासीको आरोप रहेको छ स्थानीयवासीले सांसद साह जग्गाको समेत कारोबारी रहेकाले यसमा उनको पनि खेतरहेको दाबी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष शत्रुधन पाण्डेले त्यहाँ पीसीसी ढलान गरिएको विषयमा आफूलाई जानकारी नगराइएको बताए । पाण्डेले भने, ‘मलाई जानकारी नै नगराई कुनै सांसदले त्यहाँ पीसीसी ढलान गराउँछ, भने मैले के गर्ने ?’ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ ग्रामीण वडा हो । सो वडाको बस्तीमा सडक त्यति व्यवस्थित छैन । तर, बस्ती नै नभएको खेतमा पीसीसी ढलान गरिएको छ ।

जनकपुरधामको बस स्ट्यान्डको उत्तर पश्चिम कुनामा केही पर लगभग २५ बिघाको खाली प्लट छ । त्यहाँ खेतैखेत छ, मानव बस्ती छैन । सो प्लटमा भू–माफियाहरुको जग्गा रहेको स्थानीय बताउँछन् । सोही जग्गाको मूल्यांकन बढाउनका लागि १४ फिट र १२ फिटको पीसीसी सडक ढलान गरिएको हो ।

पीसीसी ढलानका लागि प्रदेशसभा सदस्य परमेश्वर साहले आफ्नो संसदीय विकास कोषको रकमबाट खर्च गरेका छन् । जग्गा एजेन्टहरु प्रदेशसभा सदस्य साहको नजिकका मान्छे रहेका कारण मानव बस्ती नै नरहेको खाली प्लटमा सडक ढलान गराउन लगाएको स्थानीयको आरोप छ ।

प्रदेशसभा सदस्य साहले आफ्नो ३ करोडको संसदीय विकास कोषको रकमबाट ८० लाख रुपैयाँ सोही पीसीसी सडक निर्माणका लागि रकम खर्चेका छन् । यसका लागि आफना नजिकका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर यो कार्य गरेको छ । हुनत प्राविधिक कार्यालय जनकपुरधामका अधिकारीहरुले प्रकृया पुरयाएर सांसदले सबै कार्य गरेकाले पैसाको भुक्तानी दिएको जनाएका छन । यस्ता खेतहरुमा अझै केही सांसदले सडक बनाएको दाबी ती अधिकारीले गरेका छन ।

प्रदेशसभा सदस्य परमेश्वर साहले भने सो खाली प्लटमा आफ्नो कुनै जग्गा नरहेको र जनदबाबकै कारण त्यहाँ पीसीसी ढलानका लागि रकम उपलब्ध गराएको बताए । उनले भने, ‘मेरो न त्यहाँ आफ्नो निजी जग्गा छ, न कुनै भू–माफियासँग साँठगाँठ छ । त्यहाँ सडक निर्माणका लागि दवाब आयो, मैले संसदीय विकास कोषको रकम प्रयोग गरें ।’ जनताको भलो हुने उद्देश्यले आफ्नो संसदीय विकास कोषको रकम प्रयोग गरेको उनको दाबी छ ।

केही महिनाअघि नेपालमा कोरोना भाइरस संक्रमणले प्रवेश गरिरहेको समयमा प्रदेश २ का प्रदेशसभा सदस्यहरुले संसदीय विकास कोषको रकम बढाउनुपर्ने आवाज एक स्वरमा उठाएका थिए । कोरोना महामारीका कारण बजेट खर्च आशा गरेअनुरुप हुन नसकेको भन्दै सांसदहरुको संसदीय विकास कोषको रकम बढाउनुपर्ने आवाज उठाएका थिए । प्रदेशसभा सदस्यहरुले संसदीय विकास कोषको रकम बढाउनका लागि लबिङ गरिरहेको समयमा संसदीय विकास कोषको रकमको चरम दुरुपयोग भएको पाइएको छ ।

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी सो रकम उपलब्ध गराइन्छ । तर प्रदेश २ का एक जना प्रदेशसभा सदस्यले भने जनताको भलो नै नसोची निर्वाचन क्षेत्रको विकासका लागि रहेको कोषको दुरुपयोग गरेको पाइएको छ । असार महिनामा योजना बनाएर लाखोको गोलमाल संसदहरुले गर्ने गरेको देखिएको छ ।

२५ बिघाभन्दा खाली रहेको सो प्लटमा कैयौँ भू–माफियाको चलखेल रहेको स्थानीयको भनाइ छ। खाली प्लटमा केही महिना अगाडिसम्म जग्गाको मूल्य एक धुरको डेढ लाख रुपैयाँ थियो । तर त्यहाँ टाउन प्लानिङ हिसाबले संसदीय विकास कोषको रकमबाट पीसीसी सडक निर्माण गरिएपछि त्यहाँ जग्गाको मूल्य अढाई लाख धुर पुगेको छ ।

सोही प्लटमा रञ्जय पाण्डेले ५ धुरभन्दा बढी जग्गा लिएका छन्। उनले सो खाली प्लटमा अहिले धुरको अढाइ लाखमा जग्गा बिक्री भइरहेको जानकारी दिए। यस हिसाबले सो २५ बिघाको खाली प्लटको मूल्यांकन सडक निर्माण भएपछि ५ करोड रुपैयाँले वृद्धि भएको छ । प्रदेशसभा सदस्य साहले आफ्नो संसदीय कोषको रकम ७ वटा योजनामा खर्चेका छन् । स्रोतका अनुसार उनले आफ्नो अधिकांश योजना आफ्नो नजिकका मान्छेलाई दिएका छन् वा आफ्नो नजिकको मान्छेको हित हुने गरी प्रयोग गरेका छन् ।

उनले आफ्नो संसदीय कोषको रकमबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा परिक्रमा सडकदेखि दूधमती नदीसम्म जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा बसहिया सडकदेखि पश्चिम जाने बाटोका लागि ५० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मै अर्को सडकका लागि ४० लाख, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा शिवपथदेखि उत्तर पुलसम्म र पश्चिम मोनाष्टिक विद्यालयसम्म जाने सडकका लागि ३५ लाख, जनकपुर जेसिजको भवन निर्माणका लागि ४० लाख र प्रशासनिक खर्चबापत ५ लाख रुपैयाँ खर्चेका छन् ।

जनकपुरधामस्थित जनकपुर जेसिजको भवन निर्माणमा समेत आर्थिक अनियमितता भएको जेसिजकै एक पदाधिकारीले बताए । उनले भने, ‘प्रदेशसभा सदस्य साहले जेसिजको भवन निर्माण गराउनका लागि उपलब्ध गराएको ४० लाख रकमबाट १० लाख रुपैयाँ ठेकेदारबाट कमिसन खाएका छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै, मेयरमा २८४५ अन्तर