म्युनिख । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखका प्लेमेकर मारियो गोट्जे फ्री एजेन्टमार्फत डच क्लब पीएसभी इन्डोभेन पुगेका छन् । डच क्लब पीएसभीले २८ वर्षीय प्लेमेकरलाई दुई वर्षका लागि क्लबमा अनुबन्ध गरेका हुन् । २०१४ मा जर्मनीलाई विश्वकप जिताउदा अतिरिक्त समयमा निर्णायक गोल गरेका गोट्जेलाई यसै समरमा डर्टमुन्डले छाडेपछि उनलाई अनुबन्ध गर्न हर्था बर्लिन, एसी मिलान, लाजियो, एस रोमा र एट्लेटिको म्याड्रिडले चासो देखाए पनि उनी डच क्लबमा पुगेका हुन् ।
उनले फिलिप्स स्टाडिअनमा मेडिकल पूरा गरिसकेका छन् । ‘यो समरमा मलाई धेरै प्रस्ताव आएको थियो । म महसुस गर्ने मान्छे हुँ । म आफ्नै निर्णय गर्न सक्छु,’ गोट्जेले पीएसभीको आधिकारिक वेभसाइटमा भने, ‘म महसुस गर्छु कि म एकदमै भिन्न चुनौतीका लागि तयार छु । म विश्वस्त छु कि यो मेरा लागि उत्कृष्ट गन्तव्य हो ।’ २०१३ मा जर्मन महारथी बायर्न म्युनिख जानुअघि गोट्जेले बोरुसिया डर्टमुन्डमा युथ करियर हुँदै आफ्नो व्यावसायिक खेल करियर सुरुवात गरेका थिए ।
बायर्नको तीन वर्षको बसाइपछि उनी पुनः आफ्नो बाल्यकालको क्लब डर्टमुन्ड फर्किएका थिए । डर्टमुन्डका प्रशिक्षक लुसियन फाभ्रेको योजनामा यो सिजन मात्रै २१ खेलमा मात्रै अवसर पाएका थिए डर्टमुन्ड छाडेपछि गोट्जे नयाँ गन्तव्यका लागि उत्साहित छन् । पीएसभीका फुटबल निर्देशक जोन डि जोङले क्लब र खेलाडीबीचको साझेदारीमा गोट्जेको आगमनले उत्साह भरिएको र उनलाई अनुबन्ध गर्न पाउदा खुसी र गर्व महसुस भएको बताएका छन् । ‘उनले आक्रमण र मिडफिल्ड दुवै क्षेत्रमा खेल्न सक्नेछ । उनीसँग अन्तर्राष्ट्रिय अनुभवसमेत छ,’ खेल निर्देशक जोन डि जोङले भने । उनले डर्टमुन्डा लागि गत सिजन २१ खेल खेल्दा ३ गोल गरेका थिए । उनी डर्टमुन्डमा चार सिजन रहँदा १०३ खेलमा १४ गोल गर्न सफल भएका थिए । त्यसअघि बायर्नमा तीन सिजन रहँदा ११४ खेलमा ३६ गोल गरेका थिए । त्यसअघि डर्टमुन्डमा रहँदा उनले ११६ खेलमा ३१ गोल गरेका थिए ।
२०१० देखि जर्मन राष्ट्रिय टोलीमा रहेका उनी २०१७ पछि राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् । उनले जर्मनीका लागि ६३ खेलमा १७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । गोट्जेले डर्टमुन्डबाट दुईपटक बुन्डेसलिगा, दुईपटक डीएफबी पोकल र एकपटक सुपरकप जितेका छन् । यस्तै बायर्नबाट उनले तीनपटक बुन्डेसलिगा, दुईपटक डीएफबी पोकल र समान एकपटक यूईएफए सुपरकप र फिफा क्लब वल्र्डकप जितेका छन् ।
यस्तै, इंग्लिस क्लब चेल्सीका फ्रान्सेली डिफेन्डर मालाङ सार पोर्चुगिज क्लब पोर्टाेमा पुगेका छन् । पोर्टाेले सारलाई एक सिजनको लागि लोनमा अनुबन्ध गर्न सफल भएको हो । चेल्सीले २१ वर्षीय सारलाई ६ साता अघि फ्रेन्च क्लब निसबाट पाँच वर्षका लागि अनुबन्ध गरेको थियो । तर, पहिलो रोजाइमा पर्ने सम्भावना न्यून रहेपछि उनलाई चेल्सीले लोनमा पठाएको हो । सारले निसमा गत सिजन १९ खेलमा अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि उनी चेल्सीको नजरमा परेका थिए । सार अनुबन्ध गर्न सेन्ट इटिएन, जिनोआ र साम्पडोरियनले पनि चासो देखाएका थिए ।