वीरगन्ज । नेपाल–भारतको मुख्य नाका बन्द छ । अवैध लागु औषध कारोबारीका लागि सिमा क्षेत्र खुल्ला जस्तै छ । खुल्ला सीमानाको फाइदा उठाउँदै अवैध लागु औषध कारोवार गर्नेहरु अहिले पनि सक्रिय छन् । ठूलो परिणाम सहित ३ अभियुक्त प्रहरीको फन्दामा परेपछि सिमा क्षेत्रमा लागु औषध कारोबारी सक्रिय भएको रहस्य खुलेको हो ।
पर्सा प्रहरी र मातहतको टोलीले दुई दिनमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । अलग अलग ठाउँबाट सामान सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अवैध लागु औषध ८ केजी अफिम, १ सय ३१ केजी गाँजा र ४६ थान तयारी अवस्थाको कोरेक्स सहित उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए ।
सीमा पार गराउन आफ्नै घरमा लुकाई छिपाई राखिएको अवस्थामा पर्साको कालिमाई गाउँपालिका वडा नम्बर १ तीनडुवियाबाट ८ केजी अफिम सहित स्थानीय २९ बर्षीय खोवारी प्रसाद राउत कुर्मीलाई पक्राउ गरिएको उनको भनाइ छ । त्यसै गरी रातको समयमा सीमा कटाउने दाउमा आफ्नै घरमा लुकाई छिपाई राखेको १ सय ३१ केजी गाँजा सहित पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया टोलका ४० बर्षीय राज ओझैया थारुलाई पनि पर्सा प्रहरी मातहतको प्रहरीले नियन्त्रणमा लिन सफल भएको उनले जानकारी दिए ।
खुकुलो लकडाउन अवैध कारोवारीलाई फाइदा
निशेधाज्ञा खुकुलो भएसँगै सीमाना क्षेत्रकोे चोर बाटोबाट औषध कारोवार गर्नेहरु निकै सल्बलाएका छन् । बिहिबार प्रहरीले सार्वजनिक गरेका युवक मकवानपुर उपमहानगरपालिका एचआइडी बस्ने २० बर्षीय अशोक थापा रहेको पर्सा प्रहरीले जनाएको छ ।
थापाले प्रदेश नम्बर ३–०३–००१ प. ६५०९ नम्बरको मोटरसाइकलमा पर्साको अलौबाट नेपाल प्रवेश गर्नासाथ त्यहाँको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक कुँवरले बताए । ‘अभियुक्त थापाले भारतको रक्सौलबाट झोलामा उक्त परिणामको कोरेक्स ल्याउँदै थिए ।’ उनले भने ।