काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनालाई अझै आठ दिन भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
गत आइतबार बिहान नेपाल ल्याइएका उनीहरूमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेगेटिभ रहेको यसअघि नै स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ । मन्त्रालयका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १ सय ७५ जनाबाट लिइएको -यालको नमुनाको परीक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको थियो ।
उनीहरूबाट लिइएको नमुनाको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । अब फेरि १४ दिनपछि सबैबाट पुनः नमुना संकलन गरेर परीक्षण गरिनेछ ।नमुनाको परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएमा उनीहरू क्वारेन्टाइनमा बस्नुनपर्ने बताइएको छ ।
यसैबीच, उनीहरूको खर्च व्यवस्थापनको जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र आपूर्ति व्यवस्थापन महाशाखालाई दिइएको छ । खर्च अहिले यकिन भन्न नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले क्वारेन्टाइनमा रहेका नेपालीको व्यवस्थापनमा सरकारले कुनै कसर बाँकी नराखेको बताए । उनीहरूको स्वास्थ्य जाँचका लागि सरकारले २४सै घण्टा स्वास्थ्यकर्मी खटाउँदै आएको छ ।
केही दिनअघि मात्र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट उद्धार गरी ल्याएर उनीहरू बसेको खरिपाटीस्थित क्वारेन्टाइनको अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनले कन्ट्रोल रुमबाट क्वारेन्टाइनमा रहेकाहरूको व्यवस्थापनमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाएका थिए ।