धनगढी । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर राणालाई नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । राणालाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पछि धनगढीस्थित प्रहरी कार्यालयमै आइसोलेसनमा रही उपचाररत राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।
एसपी राणाको श्वासप्रश्वासमा अलि समस्या देखिए पनि अन्य स्वास्थ्य अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं लगिएका राणाको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार हुने प्रबक्ता सिंहले जानकारी दिए ।
यसैबीच धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय रहेको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । यही असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते सेती अस्पताल भर्ना भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।