स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ

कोरोना महामारीको चाप ह्वात्तै बढेसँगै संक्रमितलाई औषधोपचारका लागि स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार र संरचना अपर्याप्त हुन गएको छ । बिरामीका लागि पर्याप्त आईसीयू, भेन्टिलेटर र अति आवश्यक स्वास्थ्यकर्मीको संख्या पर्याप्त नहुँदा गम्भीर प्रकृतिका बिरामी पनि बेवारिसे अवस्थामा रहन पुगेका छन् । उनीहरूले निकै ठूलो सास्ती भोग्न बाध्य भइरहेका छन् ।

गम्भीर रूपमा संक्रमित बिरामीको समयमै आवश्यक उपचार हुन नसक्ने हो भने महामारीको संक्रमणबाट हुन सक्ने हताहतीको संख्या पनि निकै बढेर जान सक्ने देखिएको छ । अहिलेदेखि नै अस्पतालमा बिरामी पुग्दा राख्ने स्थान, उपचार कक्ष, आवश्यक स्वास्थ्यकर्मी पाउन सकिरहेका छैनन् । नेपालीहरू सामान्य भाइरल बिरामीका लागि उपचार गर्न भन्दै अस्पताल जाने गर्दैनन् । अस्पतालमा पुग्ने भनेका बिरामी रोगले निकै थलिएका र इमर्जेन्सी सेवा लिनेहरू मात्र हुन्छन् । त्यसो त सामान्य रोग र चोट नेपालीका लागि त्यसै पचिरहेका पनि हुन्छन् । कोभिड–१९ को महामारी निकै चढ्दै गए पनि नेपालीले यसलाई सहज नै बनाइरहेका छन् । सरकारको त्यति भर पनि छैन र आशा पनि छैन । त्यसैले उनीहरूले चेकजाँच आफैंले गर्ने, रोग लागे नलागेको पत्ता लगाउने र उपचार आफ्नै घर बसेर गर्ने गरिरहेका छन् । होम आइसोलेसन निर्माण गरेर परिवारको सहयोग लिँदै आफूलाई निको पारिरहेका छन् ।

तर, परिस्थिति सधैं यस्तै रहिरहला भन्ने छैन । यो स्थिति बढ्दै गएमा घरघर आइसोलेसनमा बसेकालाई पनि अस्पतालको विशेष सेवा आवश्यक पर्न सक्छ तर सरकारले अहिलेदेखि नै त्यस विषयमा गम्भीरतापूर्वक मनन गर्न सकेको छैन । त्यसैले पनि आगामी दिन झनै खराब बन्न सक्छ ।

अहिले पनि सीमित मात्रामा रहेका बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर पाइरहेका छैनन् । बिरामीले भनेका बेला सेवासुविधा नपाउँदा आम रूपमा जनगुनासो बढेर गएको छ । जाँदा वास्ता नगरिदिने, उपचारमा प्राथमिकता नदिने, आवश्यक उपचार कक्षको अभाव देखाउने आदि कारणले पनि संक्रमितहरू घरमा बसिरहेका छन् र सरकार सूचनाविहीन अवस्थामा छ । कतिपय उपचार नै गराऔं भनी दौडधूपका साथ अस्पतालमा पुग्दा पनि स्थानाभाव देखाएका कारण त्यत्तिकै घरमा फर्किएका छन् । कीर्तिपुर मैत्रीनगरका ४८ वर्षीय एक पुरुषमा गम्भीर संक्रमण देखापरेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा अन्य अस्पतालमा फोन गरेपछि आईसीयू कतै पनि खाली नरहेको सिधा जवाफ पाए । दिनदिनै बिरामी परेका, मरेका, निको भएका र संक्रमित रहेका ब्रिफिङ गर्ने सरकारी संयन्त्रसँग पनि आईसीयूको संख्या खाली रहेको अवस्था’bout कुनै जानकारी नै छैन ।

महामारी फेस गर्नका लागि आफ्नो तर्फबाट तयारी पूरा गरिसकिएको भन्ने कुरा सार्वजनिक गर्दै देशभर २ हजार ६ सय आईसीयू बेड र ९ सयवटा भेन्टिलेटर रहेको बताइएको थियो । अहिले संक्रमित बिरामीको संख्या नै ३३ हजार ८ सय ८० पुगेको छ । पहिलेको तयारीको सीमा त्यतिकै पनि नाघिसकेको छ । देशभर रहेको चिकित्सकको संख्या पनि केवल २६ हजार ३ सय ४६ रहेको छ । यो आफंैमा पर्याप्त संख्या होइन । बिरामी कोरोना महामारीको मात्र होइन, अन्य पनि छन् । अरूका लागि पनि सघन उपचार जरुरी छ । त्यसैले पनि स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटरसहितको पूर्वाधार निर्माण कार्यलाई अविलम्ब अघि बढाउनुपर्छ । नागरिकलाई स्वास्थ्यसम्बन्धी संकट पर्दा त्यसको समाधान गर्नु सरकारको परम् कर्तव्य र जिम्मेवारी हो ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा गठबन्धनमा गडबड