काठमाडौं । चलचित्र छायांकनका लागि उपकरण भाडामा दिने कम्पनीहरू निकै पीडामा छन् । गत चैतदेखि अहिलेसम्म पनि आधिकारिक रूपमा नेपाली चलचित्रको छायांकन हुन नसक्दा आफूहरूको उपकरण खिया लागेको उपकरण भाडामा दिने कम्पनीका सञ्चालकहरूको कथन छ ।
यस्तै, चलचित्र छायांकनका लागि उपकरण भाडामा दिने नेपालकै सबै भन्दा ठूलो कम्पनी प्रोड्युसर नेपालले मासिक लाखौं रुपैयाँ घाटा बेहोर्नुपरेको सो कम्पनीको अध्यक्ष केशव घिमिरेले बताएका छन् ।
पेसाले केशव प्रोडक्सन म्यानेजर हुन् । डेढ दशकदेखि नेपाली चलचित्रको प्रोडक्नस हेर्र्दै आएका केशवले यो कम्पनी सुरु गरेको सात वर्ष हुन लाग्यो । वर्षमा तीनवटा चलचित्रको प्रोडक्सन जिम्मा लिँदै आएका उनले ती चलचित्रका लागि आवश्यक पर्ने क्यामेरा, लाइट, क्रेन, ड्रोन, जोनी जिपदेखि सम्पूर्ण सामग्रीहरू भाडामा दिँदै आए ।
यसै विषयमा केशवले भने, ‘पहिला आफूले प्रोडक्सन हेरेको चलचित्रका लागि मात्र छायांकनको सामग्री भाडामा दिने गरेको थिएँ । तर, पछि अरू फिल्मका निर्माताहरूले पनि सामग्री भाडामा माग्न थालेपछि ठूलो लगानीमा अत्याधुनिक उपकरण ल्याएँ ।’ उनले पछिल्लो लगानीबारे भने, ‘गत वर्ष मात्र भारत, चीन र तेस्रो मुलुकबाट रेकड इपिक, ब्ल्याक म्याजिकजस्ता विभिन्न क्यामेरा र आधुनिक लाइटसहित करिब ६ करोडको सामान मगाएँ ।
तर, विगत सात महिनादेखि चलचित्र उद्योग ठप्प हुँदा अहिले बैंकको ब्याज तिर्न नसक्ने अवस्था आएको छु, आम्दानी एक पैसा पनि छैन ।’ छायांकनका लागि आवश्यक उपकरण राख्ने गोदामको भाडा, नियमित उपकरणको मर्मत, कामदारको तलब, कार्यालयको भाडा आदि अहिले पनि तिरिरहनुपरेको उनले बताए ।
६ करोड खर्चेर एकल स्वामित्वमा आधुनिक उपकरण मगाएपछि एकै दिन चारवटा चलचित्रको छायांकनका लागि केशवले उपकरण दिन सक्ने भए । तर, सामान आएको केही महिनामै कोरोना संक्रमणले उद्योग बन्द भएपछि उनलाई अहिले लाखौं घाटा बेहोर्नुपरेको छ ।
डेढ दशकअघि अहंकार, मृत्युञ्जयजस्ता फिल्ममा सहायक प्रोडक्सन म्यानेजर भएर काम गरेका उनले त्यसपछि सहायक भएरै जिन्दगानी, पलपलमा, सन्देशजस्ता फिल्मको प्रोडक्सन हेरे ।
त्यसपछि आफूले प्रोडक्सन म्यानेजरका रूपमा काम सुरु गरेको केशवको कथन छ । दुधौली नगरपालिका भलुवाहीका केशवको चलचित्र क्षेत्रमा आफन्त कोही पनि थिएनन् । उनी आफैं काडमाडौं आएर चलचित्र वृत्तमा निकै संघर्षपछि स्थापित भएका हुन् । यो एक दशकमा उनले नेपाली वीर, धमाका, गंगाजल, धर्मरक्षक, कालापानी, देशले रगत मागे, स्वाभिमान, मस्ती, माटो, तिमीबिनाको जीवन, तिम्रा लागि, केसरी, अल्पविराम, माया बस्छ कि के हो ?, देवयानी, अलबिदासहित करिब दुई दर्जन चलचित्रमा प्रोडक्सन म्यानेजरको रूपमा काम गरिसकेका थिए । यीमध्ये आधा जसो फिल्ममा त उनले छायांकनका लागि आफैंले उपकरण भाडामा पनि दिए । नेपाली मात्र नभएर विदेशी फिल्मको छायांकनका लागि समेत उपकरणमाा पहिलो रोजाइ बनाएको प्रोड्युसर नेपाल कोरोनाको मारमा रहेको उनको कथन छ ।
बलिउड निर्देशक जिगमान्सु धुलियाको फिल्म याराको नेपाल छायांकनका क्रममा छायांकन उपकरण दिनुका साथै केशवले प्रोडक्सन पनि हेरे । त्यसपछि उनले केही दक्षिण भारतीय फिल्मको पनि नेपालमा छायांकन हुँदा प्रोडक्सन म्यानेजरको रूपमा काम गरे ।
नयाँ दुई चलचित्र काया र कुण्डलीमा प्रोडक्सन म्यानेजरको रूपमा आठ महिनाअघि अनुबन्धित भएका केशवले कोरोनाको कारण यी दुई फिल्मको काम सम्पन्न गर्न सकेका छैनन् । आफू मात्र हैन । नेपाली चलचित्रमा प्रोडक्सन म्यानेजरको रूपमा काम गर्नेहरूको अहिले दयनीय अवस्था रहेको बताए । आफू जस्तै चलचित्रको छायांकन गर्न उपकरण पठाउने अन्य केही कम्पनीको अवस्था पनि दयनीय भएको केशवले सुनाए ।