जनकपुरधाम । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना संक्रमित भएका छन् ।
धनुषाका नापी कार्यालयका नापी अधिकृत सहित सो कार्यालयका २९ जना कर्मचारी संक्रमित भएका छन् । कर्मचारी संक्रमित भएपछि कार्यालय बन्द गरिएको छ । अधिकृतलाई संक्रमण भएपछि शुरुमा तिन दिनका लागि कार्यालय बन्द गरिएको थिया अहिले पूरै कर्मचारी नै संक्रमित भएपछि लामै बन्द हुने सो कार्यालयका अधिकारीहरुले वताएका छन् ।
आईतबारदेखि नै बन्द रहेको कार्यालयका अधिकांश कर्मचारीहरु संक्रमित भएपछि कार्यालय अझै बन्द रहने भएको छ । अत्यधिक मात्रामा सेवाग्राहीको भिड रहने नापी कार्यालयका संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अधिकांश सेवाग्राही पनि जोखिममा रहेकाले सतर्क रहनका लागि कार्यालयले आग्रह गरेको छ ।
एकैपटक एउटै कार्यालयका २९ जना कर्मचारीमा पहिलो पटक संक्रमण देखिएको हो । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ ।
शान्ति सुरक्षा र विपद् व्यवस्थापनका काम बाहेक जिल्ला प्रशासन कार्यालय एक हप्ता सम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो । केहि दिन अघि जिल्ला प्रशासन कार्यालयका एक जना नायव सुब्बामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २२ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहित ७१ जनाको स्वाब कोरोना परिक्षणको लागि संकलन गरिएको थियो ।
जसमध्ये ११ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एक जना प्रसासकीय अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय अधिकृत रामप्रमोद यादबले जानकारी दिए ।
सिरहाको जेलको अवस्था उस्तै रहेको छ । जेलका अधिकांश कैदी कोरोना संक्रकित रहेका छन् । सिरहा जिल्ला कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागार कोरोनाको ‘हटस्पट’ मात्र भएको छैन, सिंगो कारागारलाई नै आइसोलेसन बनाउनु परेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार संक्रमित भएका मध्ये अधिकांश सुधान्मुख रहेका छन् । भदौको अन्तिम साता र असोजको पहिलो सातामा कारागारमा कोरोना संक्रमण फैलिएको थियो । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबारदेखि सेवा कटौती गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएकोले सेवाग्राहीमा फैलिन सक्ने भन्दै केही सेवाहरु तत्कालका लागि बन्द गरेको प्रशासन कार्यालले जनाएको छ ।
कार्यालयका १ जना कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५ जना अझै उपचाररत छन् । प्रशासन कार्यालयले जारी सूचनाअनुसार नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता र नवीकरण, राहदानी वितरण, नाबालक परिचय पत्र वितरणलगायत सेवा प्रवाह हुने छैन । तर शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा सुनुवाइ र विपद व्यवस्थापनसम्बन्धी सेवा भने सञ्चालनमा रहने सूचनामा उल्लेख छ ।
जनकपुरधामका वरिष्ठ चिकित्सक डा. एसके सिंहले कारोना प्रति सर्तकता अपनाइए न भने अझै गम्भिर अवस्था आउने चेतावनी दिए । सरकार कार्यालय मात्रै होइन हाटबजार, चौक सबैठाउँमा त्यतिकै भीड बढेको छ । मास्कसम्म लगाउँदैनन् यस्तो अवस्थामा स्थिति बिग्रने खतरा रहेको वताए ।
प्रदेश २ मा अहिले राजनीतिक गतिविधि बढेको छ । दिनदिनै पार्टी प्रवेशका कार्यक्रमहरु हुँदै रहन्छन । समाजिक दूरीलाई कसैले मानिरहेको छैन । यससँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय २१ रहेको छ । यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १२ हजार २ सय ९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ७५ रहेको अधिकारीहरुले जनाएका छन । समाजिक विकास मन्त्री नवलकिशोर साहले संयमता अपनाउन सबैसंग आग्रह गर्छन् । स्थितिलाई नियन्त्रणमा ल्याउन सबैको सहयोगको आवश्यक्ता रहेको उनले बताए ।