उदयपुर । त्रियुगा नदिमा दश वर्षमा पनि पुल निर्माण हुन नसक्दा स्थानीयबासी नगरपालिकाको केन्द्र आउजाउ गर्न पनि डुंगामा जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् । आठ वर्ष अघि निर्माण सम्पन्न हुनु पर्ने पुल अझै निर्माण भएको छैनन् । त्रियुगा नदिमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको दश वर्ष बिति सक्यो । तर पनि निर्माण कार्य अझै अधुरै रहेको छ ।
वर्षातको समयमा नगरपालिकाको केन्द्र र वडा कार्यालयको केन्द्र सम्म जान असार, साउन, भदौं, असोज सम्म ढुंगाको भर पर्नु पर्दछ त्यहाँका स्थानीयबासीहरु । उदयपुरको चौदण्डीगढी नगरपालिकाका दुई ठाउँमा डुंगा सञ्चालन गरिएको छ । स्थानीय त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका–६, बेल्टारस्थित नगरपालिका केन्द्र आउजाउ गर्न तीन वटा वडाका स्थानीयबासिन्दालाई समस्या परेको हो । नगरपालिकाको ५ नम्बर वडाको सिवाई, सुन्दरपुरको सिवाईमा तथा ९ र १० नम्बरको हडिया देखि बेल्टार आउजाउ गर्ने ज्यामिरेमा डुंगा सञ्चालनमा ल्याइएको हो ।
त्रियुगामा बाढीको सतह बढेसँगै सुन्दरपुरको व्यापारिक केन्द्र सिवाई, बेल्हा, सुन्दरपुर तथा ९ र १० वडाको हडियाबासीलाई बेल्टार आउजाउ गर्न डुंगा सञ्चालनमा ल्याइएको नगर प्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार हिउँदमा पानी सुक्ने त्रियुगामा वर्षापछि यातायात अवरुद्ध हुने भएपछि डुंगाको सहारा लिन बाध्य हुनुु परेको हो । १० वर्ष अघि सुरु भएको सुन्दरपुरस्थित त्रियुगा नदीको पुल निर्माण कम्पनीको लापरबाहीले अझै बनि नसकेकाले त्रियुगामा बसेर्नि डुंगा चलाउनु पर्ने बाध्यता आएको हो ।
त्यस्तै ९ नम्बर वडाको आधा भाग र १० नम्बर वडाबासीलाई आउजाउ गर्न ज्यामिरे स्थित त्रियुगामै अर्को डुंगा सञ्चालनमा ल्याइएको छ । हडिया र सिवाई सुन्दरपुरका स्थानीयलाई नगरको कामकाज गर्न बेल्टार आउजाउ गर्ने सडकमा ५–७ फिट पानीको सतह बढेपछि असार पहिलो सातादेखि नै यातायात सेवा अवरुद्ध भएपछि डुंगामा आउजाउ गर्न प्रतिव्यक्ति २० रुपैयाँ भाडादर कायम गरिएको वडा कार्यालयले जनाएको छ ।
१० वर्ष बित्याे २५ प्रतिशत काम बाँकी
१० वर्ष देखि निर्माणाधीन सिवाई पुलको काम अझै ७५ प्रतिशत भन्दा बढी हुन सकेको छैन । २०६७ असार २३ गते सुरु गरेर २०७० असार २२ गतेभित्र पुल बनाइ सक्ने गरी सम्झौता भएको थियो । सो पुल गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटले हेर्दै आएको छ । योजना कार्यालय गाईघाटका प्रमुख गोपालप्रसाद खकुरेले निर्माणाधिन पुलको काम चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने जनाएको छ । कार्यालय प्रमुख खकुरेले यस वर्ष सक्ने गरी काम गर्न लगाइएको पुल निर्माणसँगै एप्रोच रोडको समेत ठेक्का लगाई सकेकाले चालु आर्थिक वर्षमा पुल सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । पुल बनाउने म्याद चार पटक थपि सकेको उनको भनाइ छ ।
१३ स्पानको दुई सय ८४ दशमलव ६ मिटर लम्बाइ र ५ मिटर चौडाइको सो पुल बनाउने जिम्मा महालक्ष्मी र लोकप्रिय जेभी कलंकी काठमाडौंले लिएको सडक कार्यालयले जनाएको छ । निर्माणको रेखदेख गर्दै आएको गाईघाट – दिक्तेल सडक आयोजनाले ७५ प्रतिशत काम पुरा भएको दाबी गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सिवाईस्थित त्रियुगा नदिको पुल अझै पनि निर्माणकै क्रममा हुदा चौदण्डीगढी नगरपालिकाका ३ वडाका बासीले नगरपालिकाको केन्द्र सम्म जान नदिमा बाढी आएको बेला सास्ती बेर्होनु परेको छ । सरकारी उदासिनता र ठेकेदारको लापरबाहीका कारण पुल निर्माणले तीब्रता नलिएको हो । बिभिन्न बहानामा काम गर्ने ठेकेदारले लापरबाही गर्दा पनि सडक बिभागले वास्ता नगर्दा समस्या भएको स्थानीयबासीको गुनासो रहेको छ ।
निर्माण सुरु गरेको एक दशक बिति सक्दा पनि त्रियुगा नदीको सिवाईमा पक्की पुलको काम निर्माण कम्पनीका कारण ढिलाई भएको हो । ठेकेदारको लापरबाहीका कारण पुल अलपत्र परेको हो । निर्माण सुरु गरेको पक्की पुल एक दशक पुगि सक्दा पनि अझै सकिएको छैन वडा नम्बर– ५ का वडा अध्यक्ष देवनारायण चौधरीले दुखेसो पोखे । पुल नबन्दा यस क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या भएको छ । हिउँदमा अस्थायी रूपमा बनाइएको बालुवाको पुलले राहत दिए पनि वर्षामा समस्या भोग्नु परेको स्थानीयबासीको भनाइ छ । १ नम्बर प्रदेशका ठूला नदी मध्ये त्रियुगा पनि एक हो । सप्तरीको फत्तेपुर, उदयपुरको सिवाई–बेलटार हुँदै खोटाङको चिसापानी बजार जोड्ने गरी चौडण्डिगढी नगरपालिका–५ त्रियुगा नदीको सिवाईमा २०६७ सालबाट पुल निर्माण सुरु गरिएको थियो । विभिन्न बहानामा काममा गर्ने ठेकेदारले निर्माण कार्यलाई तीव्रता दिएको छैन ।
चौडण्डिगढी– ५ सिवाईका लल्कु चौधरीले भने, ‘ठेक्कदारको लापरबाही गर्दा काम ढिलाइ भएको हो । सडक विभागले वास्ता नगर्दा पनि पुल निर्माणमा समस्या भएको उनले बताए । ठेक्का लिएको महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनले आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकाले पनि ढिलाइ भएको स्थानीयबासीको गुनासो रहेको छ । पुल निर्माण सुरु गर्दा महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनको मालिक आफैं भएको भन्दै रामेछापका कमलबिक्रम कार्कीले काम थालेका थिए । तर उनले महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनसँग सब कन्टाक्टर भएर काम गरेको र घाटा भएपछि काम अलपत्र पारेर भागेकाले पनि निर्माण कार्यमा ढिलाइ भएको चौडण्डिगढी नगरपालिका– ५ का वडा अध्यक्ष देवनारायण चौधरीको भनाई रहेको छ ।
सरकारी वेवास्ताका कारण ढिला सुस्ती
तर महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनले पनि पुलको निर्माण कार्य बिभिन्न बहानामा कछुवा गतिमा अगाडि बढाइ रहेको वडा अध्यक्ष चौधरी बताउँछन । पुल निर्माण स्थलमा अहिले महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनका प्राविधिक, कर्मचरी कोही पनि छैन । जिल्लाको दोश्रो व्यापारिक केन्द्र बेल्टार बजारसँग खोटाङको चिसापानी बजारलाई राष्टिय सडक सञ्जालमा जोड्न सरकारले यो पुल निर्माण गर्ने निर्णय गरेको हो । पुलको निर्माण सम्पन्न आर्थिक बर्ष ०७०/७१ सम्पन गर्ने गरी ठेक्का सम्झौता भई काम सुरु गरिएको थियो । सुरुमा ठेक्का ९ करोड ७६ लाखको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण १३ करोड भन्दा माथि पुगि सकेको प्राविधिक बताउँछन । सरकारी वेवास्ताका कारण ढिला सुस्ती हुदा राज्यलाई मुल्य समायोजनाको नाममा वर्षेनी करोडौ रुपैया नोक्सान भई रहेको स्थानीयबासीको आरोप रहेको छ । पहिलेको डिजाइन परिवर्तन गरेर नयाँ अनुसार गर्दा काम ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी र लोकप्रिय कन्स्ट्रक्सन जेभीले जनाएको छ । कन्स्ट्रक्सन कम्पनीका अनुसार पुल निर्माणका लागि तीन वटा पिलर बनाउने स्थानमा नदीभित्र रूखको ठूलो ठुटा भेटिएपछि निर्माण कार्य प्रभावित भएको हा ठेकेदारले भने ।
गाईघाट – दिक्तेल सडक आयोजन कार्यालय गाईघाटले भने, ‘पिलर बनाउने स्थानमा भेटिएको रूखको ठुटाले गर्दा ढिलाई भएको जनाउँछन । त्यसलाई निकाल्न ड्रयगलाइन मेसिन आवश्यक पर्ने भएकाले मेसिन ल्याउन ढिलाई भएर रूखको ठुटा झिक्न समय लागेको समय लागेका हो । पुल निर्माण सुरुदेखि नै सुस्त गतिमा भइ रहेको चौडण्डिगढी नगरपालिका नगर प्रमुख खग्रेन्द राईको भनाई रहेको छ । ‘पुल छिटो सक्न र कामलाई तीव्रता दिन कन्स्ट्रक्सन कम्पनी र सडक विभागलाई पटक÷पटक अनुरोध गरिएको नगर प्रमुख राईले भने, ‘नगरपालिकाले पनि पुल चाँडै सकियोस् भनेर कन्स्ट्रक्सन कम्पनीलाई सहयोग गरि रहेकै छ । ३ सय ७ मिटर लामो डव्बल लेन्थको पुल निर्माण सम्पन्न भई सञ्चालनमा आए दोश्रो ठूलो व्यापारिक केन्द्र बेल्टार बजारसँगै सप्तरीको पूर्व उत्तर र खोटाङको दक्षिण भेगका बासिन्दाले ठूलो राहत पाउने थियो, चौदण्डीगढी नगरपालिका नगर प्रमुख राईको भनाई रहेको छ ।