युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बइ इन्डियन्स र रोयल च्यालेन्जर बंगलोरविरुद्ध सन राइजर हैदरावाद विजयी भयो । दुवै टोलीले सजिलै जीत निकालेका हुन् । दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बई शीर्ष चार स्थानमा सुरक्षित पुगेको छ । दिल्लीले दिएको १ सय ११ रनको झिनो लक्ष्य मुम्बईले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा इशान किशनले अविजित रहँदै ७२ रन जोडे । जितसँगै मुम्बईले १३ खेलमा १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानको पकड बलियो पारेको छ । अन्तिम खेलमा पराजित भएपनि मुम्बई शीर्ष दुईमै रहने छ । आईपिएल क्रिकेटको लिग चरणमा शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्ने छन् । दिल्लीलाई भने अब प्ले– अफमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । तेस्रो स्थानमा रहेको दिल्लीको १३ खेलमा १४ अंक छ ।
अर्को खेलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । खेलमा बैंग्लोरले दिएको १ सय २१ रनको सामान्य लक्ष्य हैदरावादले १४ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । जितसँगै हैदरावादले प्ले अफ्मा छनौट हुने संभावना जिवित राखेको छ ।
आईपिएल क्रिकेटमा आज चेन्नाई र पन्जाब तथा कोलकाता र राजस्थान भिड्नेछन् । आजको खेल चेन्नाइबाहेक पञ्जाव, कोलकाता र राजस्थानका लागि प्लेअफमा पुग्न महत्वपूर्ण हुनेछ ।