बर्दिया । गेरुवा गाउँपालिका-४ राजिपुरका ५८ वर्षीय लहानु थारूको शनिबार बेलुका पाटेबाघले आक्रमण गर्यो । उनी घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउन गएका थिए । पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गयो। बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाड्यो र एउटा गोरुलाई लतार्दै जंगलतर्फ लग्यो ।
गेरूवा गाउँपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यो पालिका निकुञ्जको मध्यवर्ती क्षेत्र हो । घटना लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली सो क्षेत्रमा खटियो । तर टोलीले अझै मान्छे मार्ने बाघ फेला पारेको छैन ।
यसैगरी कात्तिक ११ गते नेपाल भारत सीमा नजिकको मधुवन नगरपालिका-३ मा धनौरामा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक डिभिजन वन कार्यालय अन्तर्गतको बेलझुण्डी सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट धनौरा गाउँका २७ वर्षका दिनेश थारू र २६ वर्षका रमेश थारूको ज्यान गयो । बाघ खोजी गर्न वनमा क्यामेरा जडान गरिएको छ । तर बाघ फेला परेको छैन । जसरी भएपनि बाघ नियन्त्रणमा लिनु पर्ने स्थानीयले माग गरेका छन् ।
दुई हप्ताअघि कात्तिक ५ गते यसै ठाउँकी २८ वर्षकी गंगा बुढाको पनि बाघकै आक्रमणबाट ज्यान गयो । उनी सामुदायिक वनमा डालेघाँस काट्न गएकी थिइन् । करिब एक महिनाअघि मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परी ज्यान गएको थियो । उनी खोलामा माछा मार्न गएका थिए । यसरी महिना दिनमै बाघले ५ जनाको ज्यान लिएपछि स्थानीयबासीमा त्रास छाएको छ ।
स्थानिय रामलखन थारू भन्छन्, ‘घरबाट निस्कनै डर छ । कति खेर के हुने हो, हामी त्रासमा छौं ।’ निकुञ्ज मध्यवर्ती क्षेत्र र वन आसपासका बासिन्दा वर्षौदेखि वन्यजन्तुबाट पीडित छन् । बाघ, हात्तीलगायतका वन्यजन्तुले अन्नबाली, पशुचौपाया खाने र मानिसका घरगोठसमेत भत्काउने गरेकाले आफुहरूले निकै सास्ती खेप्नु परेको स्थानीयले गुनासो सुनाए । निकुञ्ज तथा डिभिजन वन कार्यालयले वन्यजन्तुको उचित व्यवस्थापन गर्नु पर्ने स्थानीयको माग छ । बाघको आक्रमणबाट ज्यान गुमाएका परिवारका सदस्यलाई तत्काल राहत तथा क्षतिपूर्ति दिनु पर्ने स्थानियले माग गरेका छन् ।
बाघको आक्रमण बढ्दै गएपछि मान्छे मार्ने बाघ तत्काल नियन्त्रणमा लिन स्थानीयले माग गरेपछि बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको टोली बाघ पहिचान र नियन्त्रण गर्न खटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापा बताउँछन् ।