सिन्धुली । कोभिड १९ अर्थात कोरोना भाईरसका कारण सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कमलामाई नगरपालिका वडा नं. ६ की ८३ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण सिन्धुलीमा भएको पहिलो मृत्यु हो । उनलाई परिवारले उच्च ज्वरो र स्वास प्रस्वासमा समस्या आएपछि शुक्रबार उपचारका लागि धुलिखेल अस्पतालमा लगेको थियो । अस्पतालले उपचार सम्भव नभएपछि कोभिड परिक्षणका लागि स्वाव संकलन गरि विरामी फिर्ता पठाएको थियो ।
विरामीलाई शनिबार राती १० बजे सिन्धुली अस्पतालको आपतकालिन कक्ष (इमर्जेन्सी) मा भर्ना गरि उपचार गरिएको थियो । उपचारका क्रममा रहेकी उनको मृत्युको २ घण्टा अगाडि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
महिलाको आपतकालिन कक्षमा मृत्यु भएपछि आइतबार साँझदेखि सोमबार विहानसम्मका लागि आपतकालिन कक्षबाट सेवा नदिईने भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए । उनका अनुसार आपतकालिन कक्ष निर्मलीकरण गरेपछि सेवा सुचारु गरिने छ ।
यस्तै मृतक महिलाको शव नेपाली सेनाको वर्द बहादुर गणले कमलामाई नगरपालिका वडा नं. ७ को बुका पुल नजिकै व्यवस्थापन गरेको छ ।