सर्लाही । सिर्लाहीको हरिपूर्वा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै्र नेकपा हरिपूर्वाले मसाल जुलुस प्रदर्शन गरेको छ । हरिपूर्वा नगरपालिका वडा नं. १ स्थित नयाँ बजार देखि निकालिएको मसाल जुलुस नगर परिक्रमा गरी पुरानो बजार स्थित कोण सभामा परिणत भएको नेकपा हरिपूर्वाले जनाएको छ ।
हरिपूर्वा नगरपालिका पूर्ण कुषि प्रधान नगर भएपनि नगरपालिकामा कृषि प्रवद्र्धनको लागि कुनै किसिमको कार्य नभएको भन्दै नेकपा हरिपूर्वा नगर कमिटिले बिरोध प्रदर्शन गरेको नेकपा हरिपूर्वाले जनाएको छ । नगरपालिका भित्र शिक्षाको नाममा, कोरोना भाईरसको नाममा अत्यधिक भ्रष्टाचार भएको भन्दै पूर्व घोषित कार्यक्रम अन्तर्गत मसाल जुलुस प्रदर्शन गरेको नेकपा हरिपूर्वा नगर राजनैतिक सयन्त्र समितिका संयोजक बिकाउ यादवले बताए ।
बिगत ३ वर्ष देखिको विकास निर्माण कार्य पारदर्शी गर्न, नगरवासीहरुको माझ ल्याउन र विकास निर्माण सम्बन्धी कागज तथा सूचना माग्दा आफ्नो मागको सुनुवाई नभएकाले प्रदर्शन गर्नु परेकोसंयोजक यादवले बताए । नगर प्रमुख सियाराम राय र प्रसासकीय अधिकृत सक्कलदेव यादबको मिलोमतोमा विभिन्न बहानामा भ्रष्टाचार भएको आरोप संयोजक यादवले लगाए । हरिपूर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायले आफुहरु माथी लगाएको आरोप झुठो भएको दावी गरे ।