लमजुङ । लमजुङको पहिचान र गौरवको रुपमा रहेको तर लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाका संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका बीच सहकार्य हुने भएको छ । उक्त गीतको खोज एवम् संरक्षणका लागि दुई प्रतिष्ठानका बीचमा सहकार्य हुने सहमति भएको हो ।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ एवम् लोक विभागका संयोजक वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको प्रमुख आतिथ्यतामा सदरमुकाम बेसीशहरमा भएको संयुक्त बैठकले उक्त कार्यक्रम आउदो मंसिर महिनाको दोस्रो सातामा सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसका लागि ठाडोभाकाको पुराना र नयाँ पुस्ताका गायकका बीचमा समायोजन हुनेगरी चार समूह छनौट गरिने भएको प्रतिष्ठानका उपाध्यक्ष शोभा थापाले बताइन् ।
गीत रेकर्ड स्थल छनौटका साथै गायक समूहको छनौटको जिम्मा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले लिएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी एवम् उपलब्धीपूर्ण बनाउन तीन तीन जना सदस्य रहेको पाँच वटा विभिन्न उपसमिति गठन गरिएको छ । कार्यक्रम संयोजन उपसमितिको संयोजकमा नवराज पहाडी सदस्यद्वयमा रुद्रनिधि तिवारी र राजु थापा छन् । यसैगरी, संस्कृति उपसमितिको संयोजकमा बुद्धिमान दुरा धम्पु सदस्यमा सीता दुरा र चित्र दुरा, प्रचार प्रसार उपसमितिको संयोजकमा कृष्ण आले, सदस्यमा डिबी मजाकोटी र कुमारी तामाङ, स्वागत सत्कार उपसमितिको संयोजकमा शोभा थापा र सदस्यमा अमृता असीम र सुधा ढकाल रहेका छन् । त्यस्तै, मञ्च व्यवस्थापन समितिको संयोजकमा संयोग लामिछाने सदस्यमा नोर्देन तामाङ र सोमराज बराल रहेको प्रतिष्ठानका सचिव कृष्ण आलेले बताउनु भयो ।
सो अवसरमा वरिष्ठ लोकगायिका हरीदेवी कोइरालाले ठाडोभाकाले लोकसंगीतको क्षेत्रमा लमजुङको मात्र नभई देशकै पहिचान र गौरव बोकेको बताइन् । उनले लोपोन्मुख अवस्थामा पुग्न लागेको यो भाकाको खोज अनुसन्धान र संरक्षण गर्नु पर्छ भन्ने धेयका साथ गत वर्षनै आफूले गरेको प्रतिवद्धता अनुसार यो वर्ष २ वटा कार्यक्रम लमजुङमा पारेको जानकारी दिइन् । उनले भनिन् ‘ती दुईमध्ये एउटा ठाडोभाकाको स्थापनाकालदेखिको आजका अवस्थासम्मको अनुसन्धानमूलक सोधपत्र लेखन गर्ने र अर्को त्यो भाका कस्तो हो त ? भन्नेहरूका लागि देखाउन ठाडोभाकाका उत्कष्ठ तर समावेसी गायक गायिकाहरूको चार समूहको रेकर्ड गर्ने कार्यक्रम हो ।’ उनले यस्ता कार्यक्रम लिएर आफूलाई कलाकारको रुपमा जन्माउने लमजुङमा आउन पाउँदा गर्वको अनुभव भएको बताउँदै २०४० सालमा पहिलो रेकर्ड भएको लोकगीत ‘पाइन खबर … ’ का साथै ‘आमाको दश धारा … ’ बोलका गीत गाएकी थिइन् ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा धम्पु, सल्लाहकार शालिग्राम अधिकारीले ठाडोभाकाका साथै कार्यक्रमको विविध पक्षमा प्रकाश पारेका थिए । प्रतिष्ठानका उपाध्यक्ष शोभा थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कोषाध्यक्ष अमृता असीम, सदस्यहरू रुद्रनिधि तिवारी, राजु थापा, दलबहादुर मजाकोटी, कुमारी तामाङ आदिले आ– आफ्नो धारणा राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कृष्ण आलेले गरेका थिए ।