पोखरा । तनहुँको मानहुँकोटमा यतिबेला आन्तरिक पर्यटकको भिड उर्लिएको छ । शनिबार यहाँ पुग्नेहरु कुनै मेला महोत्सवको लागि गएका होइनन् । यहाँ पुगेपछि हुने आनन्द महसुस गर्न तनहूँ लगायत छिमेकी जिल्लाहरुबाट आन्तरिक पर्यटकको भिड थामिनसक्नु भएको हो ।
पर्यटकीय क्षेत्र मानहुँ तनहुँ सदरमुकाम ब्यासको वडा ५ मा पर्छ । सदरमुकाम व्यास र पृथ्वी राजमार्गबाट हेर्दा त कहालीलाग्दो भीरपखेरोमात्र देखिन्छ । सिरानमा बस्ती होला भन्ने अनुमानै गर्न सकिन्न । तर पृथ्वी राजमार्गहुँदै यात्रा गर्ने जो कोहीको लागि अहिले मानहुँ आकर्षणको केन्द्र बन्दै गएको हो ।
व्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमणले यो बेला अन्यत्रका धेरै पर्यटन क्षेत्र सुस्ताए तर मानहुँमा ठूलो आकारमा पाहुना आउने गरेका छन्। उनी भन्छन्, ‘मानहुँले यत्तिको धेरै संख्यामा मान्छे यसअघि कहिल्यै पाएको थिएन । शनिबारमात्रै १५ हजार जना मानिस आएका छन् ।’
यस वर्ष दसैंको समयमा विगतको तुलनामा बढी आन्तरिक पाहुना मानहुँ उक्लिन थालेका हुन् । छिमेकी जिल्ला लमजुङ, गोरखा, कास्की, चितवन, काठमाडौं, पाल्पा, रुपन्देही लगायत जिल्लाबाट आन्तरिक पाहुना मानहुँ उक्लिरहेका छन् ।
एकै पटक यति धेरै पाहुना आउँदा व्यवस्थापनमासमेत हम्मेहम्मे भएको उनको भनाइ छ । ठूलो संख्यामा पाहुना आएपछि ट्राफिक व्यवस्थापनमा समेत अप्ठ्यारो परेको थियो । यहाँ १५ जना प्रहरी नै खटिएका थिए ।
मानहुँकोटमा विषम परिस्थितिबीच पनि मानिसको भिड बढ्नुले अर्को विकराल समस्या नल्याउला भन्न सकिन्न । यहाँ घुम्नेहरुले पनि स्वास्थ्य सचेतना नपआउने गरेको पाइएको छ
मानहुँ घुम्नेले पछिल्लो समय सामाजिक सञ्जालमा चित्ताकर्षक फोटोहरु राख्दा मानहुँ भाइरस बनेको हो । मानहुँमा विगतमा करिब ७० घरधुरी रहे पनि खानेपानी अभावमा मानिसहरु बिस्तारै वेसी झरेका छन् । हाल यहाँ ६ घर मात्रै छन् । घुम्ने जानेहरु शुक्रबारदेखि नै टेन्ट टाँगेर बसेको पाइन्थ्यो । पोखराबाट मानहुँ घुम्ने निस्केको रामबजारका विकास गुरुङका अनुसार कतिपय मानिस बढ्दो भिडले बीच बाटोबाटै फर्केका छन् । भीड छिचोलेर डाँडामा पुग्न कठिन भएकोले केही मानिसहरु बीच बाटोबाटै फर्केको गुरुङले बताए ।
मानहुँमा पुगिसकेपछि तल हेर्दा पूरै बादलले छेकिएर आकाशमा घुमेको महसुस हुन्छ । विस्तारै सूर्योदयसँगै उत्तरमा माछापुच्छे«, अन्नपूर्ण, मनास्लु लगायतका मनोरम हिमश्रृङ्खला, मादी नदी, दमौली बजार, वनजंगलको हरियाली अवलोकन गर्न सकिन्छ ।
तर, मानहुँ पर्यटकीय गन्तव्य रुपमा परिचित हुनु राम्रो पक्ष भए पनि कोरोना महामारीको बखत एक्कासी भीडले संक्रमणको जोखिम भने निम्तिन गएको छ ।
मानहुँकोटमा विषम परिस्थितिबीच पनि मानिसको भिड बढ्नुले अर्को विकराल समस्या नल्याउला भन्न सकिन्न । यहाँ घुम्नेहरुले पनि स्वास्थ्य सचेतना नपआउने गरेको पाइएको छ । तर त्यो भिडले भने कोरोना भाइरस संक्रमणको जोखिम बढाएको छ ।
व्यास ५ का वडाध्यक्ष श्रेष्ठका अनुसार बाहिरबाट पाहुना आउँदा गाउँमा संक्रमणको त्रास बढ्यो । यस्तै हो भने गाउँमा संक्रमण फैलिन केहीबेर नलाग्ने उनको चिन्ता छ ।